माओवादी केन्द्रले पनि सुरु गर्यो कारबाही प्रक्रिया, बादलबाहेक चार मन्त्रीलाई सांसदबाट हटाउन सिफारिस


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वका चार मन्त्रीलाई सांसद पदबाट हटाउन पत्र पठाएको छ।

स्थायी समिति बैठकको निर्णयअनुसार केन्द्रले ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरी र सहरी विकास मन्त्री प्रभु साहलाई सांसद पदबाट हटाउन संसद सचिवालयलाई पत्र पठाएको छ।

ती चार जनालाई सांसद पद नरहने गरी चिठी पठाइएको माओवादी केन्द्रका राष्ट्रिय सभा संसदीय दलका नेता दीनानाथ शर्माले बताए।

स्पष्टीकरणमा चित्त बुझ्दो जवाफ नआएको भन्दै केन्द्रले कारबाहीका लागि संसद सचिवालयमा पत्र पठाएको शर्माले बताए । त्यस्तै केन्द्रले गृहमन्त्री रामबहादुर थापाको सांसद पद खारेज गर्न भने पत्र नपठाइसकेको जनाइएको छ ।

प्रतिक्रिया