वेस्ट इन्डिजमाथि नेपालको शानदार जित, सिरिज नै हातमा


काठमाडौं – लगातार दोस्रो जितसंगै नेपालले वेस्ट इन्डिजसँगको ऐतिहासिक टी-२०आई सिरिजको उपाधी जितेको छ ।

 दोस्रो खेलमा वेस्ट इन्डिजलाई हराउँदै नेपालले ३ खेलको टी-२०आई सिरिज आफ्नो पक्षमा पारेको हो ।

नेपाली क्रिकेटले इतिहासमै टेस्ट राष्ट्रविरुद्धको शृंखला जितेको यो पहिलो पटक हो । नेपाली टिमले आईसीसीको पूर्ण सदस्य राष्ट्रविरुद्ध खेलेको पहिलो शृंखलामा नै जित निकालेको हो ।

नेपालका आदिल आलमले ४ ओभरमा २४ रन दिएर ४ विकेट लिए । कुशल भुर्तेलले ३ तथा ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो । नेपालका लागि ओपनर आसिफ शेख र सन्दीप जोराले अर्धशतकीय पारी खेले । आसिफले ४७ बलमा अविजित ६८ रन बनाए । जोराले ३९ बलमा ६३ रन बनाए ।

वेस्ट इन्डिजका लागि कप्तान अकिल होसेनले ४ ओभरमा २१ रन दिएर २ विकेट लिए । काइल मेयर्सले २ ओभरमा २६ रन दिएर २ विकेट लिए । जेदिया ब्लेड्सले एक विकेट हात पारे ।

यी दुई टिमबीचको अन्तिम तथा तेस्रो खेल मङ्गलबार हुने तालिका छ ।

 

प्रतिक्रिया