पाँच दिनमै राजधानीबाट एक लाख ८९ हजार यात्रु बाहिरिए


काठमाडौं-  चाडपर्व नजिकिँदै जाँदा राजधानी छाड्ने यात्रुको चाप दिनानुदिन बढ्दै गएको छ। पछिल्ला पाँच दिनमै मात्र एक लाख ८९ हजार २१८ यात्रु उपत्यकाबाट विभिन्न गन्तव्यतर्फ गएका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार असोज १ गतेदेखि ५ गतेसम्म २९ हजार ३६० वटा सार्वजनिक सवारीसाधनमार्फत उक्त संख्याका यात्रुहरू बाहिरिएका हुन्।

प्रहरी नायब उपरीक्षक (डीएसपी) लोकेन्द्रसिंह गुरुले उपत्यकामा अध्ययन, रोजगारी र व्यवसायका लागि बसोबास गर्दै आएका सर्वसाधारण क्रमशः थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाकामार्फत घर फर्किएको जानकारी दिए।

तथ्यांकअनुसार असोज १ गते ३४ हजार ५५६, असोज २ गते ३६ हजार १ सय, असोज ३ गते ४० हजार ५५५, असोज ४ गते ३४ हजार ८७९ र असोज ५ गते ४३ हजार १२४ यात्रु उपत्यकाबाट बाहिरिएका छन्।

यस वर्ष भने सडकको बिग्रिएको अवस्थाले यात्रुहरूलाई थप समस्या व्यहोर्नु परेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमका अनुसार वर्षासँगै राजमार्गमा बारम्बार पहिरो खस्दा बसहरू घण्टौँसम्म बाटोमै रोकिनुपरेको छ। उनले भने, “मुग्लिङ–नारायणघाट सडकखण्डमा पहिरोका कारण गाडी आवतजावतमा ठूलो कठिनाइ भइरहेको छ। बस ढिलो आइपुग्दा यात्रुलाई समयमै गन्तव्य पठाउन निकै गाह्रो भइरहेको छ।” उनले अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन सरकारसँग आग्रह पनि गरे।

त्यसैगरी, राजधानीको गोंगबुस्थित नयाँ बसपार्कमा यात्रुको भीड झन् बढेको छ। लोत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पंकज मल्लका अनुसार सामान्य दिनमा चार–पाँच हजार यात्रु मात्र बाहिरिने गरेकामा हाल दैनिक १५ हजारभन्दा बढी यात्रु नयाँ बसपार्कमार्फत उपत्यका छाडिरहेका छन्।

प्रतिक्रिया