नेपाल पक्षका तीन विद्यार्थी नेतालाई ओली पक्षले गर्यो कारवाही


काठमाडौं – नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले संगठनका निवर्तमान तीन सचिवलाई कारबाही गरेको छ। पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका तीन जना विद्यार्थी नेताहरूलाई कारवाही गरेको हो।

अनेरास्ववियूका अध्यक्ष ऐन महरले साधारण सदस्य समेत नरहने गरी सुदेश पराजुली, वसिम आलम र आरती लामालाई मंगलबार कारवाही गरेका हुन्। महर एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पक्षका हुन्।

उनीहरुले गत चैत १० गते अनेरास्ववियूको समानान्तर कमिटी गठन गरेका थिए। नेपाल पक्षीय अनेरास्वियूको भेलाले पराजुलीलाई अध्यक्ष, आलमलाई सह–अध्यक्ष र लामालाई महासचिव चयन गरेको थियो।

हित विपरित समानान्तर कमिटी गठन गरेको भन्दै महरले १५ चैत र २२ चैत गरी दुईपटक स्पष्टीकरण सोधेका थिए। सुरुमा तीन दिनभित्र स्पष्टीकरण दिन भनिएपनि उनीहरुले केही रेस्पोन्स दिएका थिएनन्।

पछिल्लोपटक २४ घण्टे स्पष्टीकरण सोधे पनि जवाफ नदिएकोले कारवाही गरेको महरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। संगठनको हितविपरीत समानान्तर कमिटी गठन गरेकोले कारवाही गरिएको महरले बताए।

प्रतिक्रिया