पर्सामा हैजा पुनः सक्रिय, एकै दिन २७ नयाँ केस


वीरगञ्ज – पर्सा जिल्लामा हैजा संक्रमित बिरामीहरूको संख्या फेरि बढ्न थालेको छ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार शनिबार मात्र वीरगञ्ज महानगर र पोखरिया नगरपालिकाका विभिन्न क्षेत्रमा गरी २७ जनामा झाडापखाला तथा शंकास्पद हैजाको संक्रमण देखिएको हो। तीमध्ये ४ जनामा हैजा पुष्टि भइसकेको जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए।

एक महिनाअघि महामारीका रूपमा फैलिएको हैजा संक्रमण केही समययता घट्दै गएकोमा फेरि बिरामी भर्ना हुने दर बढेको कार्यालयले जनाएको छ।

गत एक महिनामा मात्रै पर्सामा १ हजार ४५१ जना झाडापखाला तथा शंकास्पद हैजाका बिरामी अस्पताल भर्ना भएका थिए। तीमध्ये १ हजार ४२१ जना उपचारपछि घर फर्किएका छन् भने हाल ३० जना विभिन्न अस्पतालमा उपचाररत छन्। यस अवधिमा २३७ जनामा हैजा पुष्टि भएकोमा २३३ जना निको भइसकेका थिए भने ४ जनाको उपचार जारी छ।

नारायणी अस्पतालका प्रवक्ता उदयनारायण सिंहका अनुसार सुरुमा सर्वसाधारणले खानेपानीको प्रयोगमा सतर्कता अपनाएका थिए। तर बिरामीको संख्या घट्न थालेपछि लापरबाही बढेपछि संक्रमण फेरि देखिएको हो।

भदौ ६ गते वीरगञ्ज–१२ मुरलीमा पहिलोपटक हैजा संक्रमण पुष्टि भएको थियो। पानीको अभावपछि सरकारले वितरण गरेको तथा डीप बोरिङमार्फत आपूर्ति भएको दूषित पानीका कारण हैजा फैलिएको चिकित्सकहरूले बताउँदै आएका छन्। तर, सरकारी निकायले भने अहिलेसम्म हैजा कहाँबाट फैलियो भन्ने निश्चित गर्न सकेको छैन।

प्रतिक्रिया