सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण बाहेकका सेवा स्थगित


काठमाडौं- जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा भएको आगजनी, तोडफोड र लुटपाटका कारण अदालतले बन्दी प्रत्यक्षीकरणबाहेकका सम्पूर्ण सेवा हालका लागि स्थगित गर्ने निर्णय गरेको छ।

भदौ २४ गते भएको घटनामा अदालतका इजलास, अभिलेख, चालु मुद्दा, मिसिल र सूचना प्रविधि प्रणालीसहितका अधिकांश भौतिक संरचना क्षतिग्रस्त भएपछि नियमित कामकाज ठप्प भएको हो।

यसअघि प्रकाशित सूचनाअनुसार सर्वोच्चले भदौ २९ गतेदेखि बन्दी प्रत्यक्षीकरण निवेदनको दर्ता र सुनुवाइ सुरु गर्ने घोषणा गरिसकेको थियो। तर अन्य सेवा भने तत्काल पुनः सुरु गर्न नसकिने स्पष्ट पारेको छ।

पूर्ण बैठकको निर्णय उद्धृत गर्दै सर्वोच्चले अर्को सूचना प्रकाशित नभएसम्म म्याद, हदम्याद र तारिख नगुज्रने व्यवस्था हुने जनाएको छ। साथै अदालत पुनः सञ्चालन भएको मितिले ३० दिनभित्र सम्पर्कमा आउन मुद्दाका पक्षलाई आग्रह गरेको छ।

प्रतिक्रिया