मुलुकलाई सहज बनाउने प्रयासमा नेपाली सेना, खुकुलो भयो कर्फ्यू


काठमाडौं – जेनजीहरुको अप्रत्याशित आन्दोलनपछि मुलुक सञ्चालनको अभिभारा पाएको नेपाली सेनाले मुलुकलाई विस्तारै सहज अवस्थातिर लैजाने प्रयास गरिरहेको छ । यसै परिप्रेक्ष्यमा पहिलो चरणमा सेनाले जारी गरेको निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई क्रमबद्ध खुकुलो बनाउँदै लैजाँदै गरेको छ ।

पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाको लागि काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा जारी भएको निषेधाज्ञा तथा कर्फ्यू खुकुलो बनाइने जनाएको छ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार निषेधाज्ञा भदौ २६ गते (आज) बिहान १० देखि बेलुकी ५ बजेसम्म लागू हुनेछ। कर्फ्यू भने बेलुका ७ बजेदेखि भोली बिहान (शुक्रबार) बिहान ६ बजेसम्मका लागि जारी गरिएको छ।

निर्देशनालयका अनुसार नागरिकलाई अत्यावश्यक कार्यको लागि भदौ २६ गते बिहान ६ बजेदेखि १० बजेसम्म र सोही दिन बेलुकी ५ देखि ७ बजेसम्म आवतजावत गर्न सकिने गरी समय निर्धारण गरिएको छ। निषेधाज्ञा तथा कर्फ्यूको समय अत्यावश्यक सेवाका एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै, खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधि ओसारपसार गर्ने सवारी साधनहरू सञ्चालन गर्न सकिने सेनाले जानकारी दिएको छ।

उक्त समयमा सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्थालगायत सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीले आफ्नो परिचयपत्र देखाई कार्यालयसम्म आवतजावत गर्न सकिनेछ ।

यस्तै, आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुहरूले आफ्नो उडानको टिकट देखाई विमानस्थलसम्म आवतजावत गर्न सक्ने सेनाले स्पष्ट गरेको छ।

सेनाले आवश्यक सहायताको लागि नजिकमा रहेका सुरक्षाकर्मीहरूसँग समन्वय गर्नुहुन सम्बद्ध सबैमा अनुरोध समेत गरेको छ। काठमाडौँ उपत्यका बाहिरको हकमा सम्बन्धित जिल्लाको सुरक्षा परिस्थिति अनुरूप जिल्ला सुरक्षा समितिहरूबाट निर्णय तथा समन्वय गरिए बमोजिम हुने जानकारी दिइएको छ।

जस्तोसुकै परिस्थितिमा पनि आमनेपालीको सुरक्षा र मानवीय उद्धारमा प्रतिबद्ध रही जिम्मेवारी निर्वाहमा सक्रिय सुरक्षाकर्मीलाई सहयोग पुर्‍याउन सबैमा सेनाले अपिल गरेको छ।

बुधबार आन्दोलनरतपक्षका विभिन्न व्यक्तिहरुसँग वार्तामा बसेको जंगी अड्डाले जेनजीहरुलाई सामूहिक रुपमा नभई नेतृत्वको रुपमा सम्पर्कमा आउन आह्वान गरिसकेको छ । त्यसबाहेक अभियन्ता समेत भनिएका दुर्गा प्रसाईलगायतसँग छलफल गरेको सेनामा नयाँ सरकार गठनका लागि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ दलबलसहित पुगे पनि अहिलेसम्म निष्कर्ष भने केही आइसकेको छैन ।

मुलुकको नयाँ सरकारको नेतृत्वका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सुशीला कार्कीलाई समर्थन गरेको सामाजिक सञ्जालमार्फत् जनाएका छन् ।

प्रतिक्रिया