जेन-जीको आन्दोलनमा दुर्गा प्रसाईँ ‘नट अलाउड’


काठमाडाैं- भोलि  थापाथलीस्थित माइतीघर मण्डलामा जेनेरेसन जेड (जेन-जी) युवाहरूले आयोजना गर्ने शान्तिपूर्ण आन्दोलनमा विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईँ सहभागी नहुने भएका छन्।

सामाजिक सञ्जाल निष्क्रिय गरिएकाे विरोधमा तीन बुँदे मागसहित जेन जेड पुस्ताले आन्दोलन गर्ने तयारी गरेका हुन्। उनीहरूले बिनासर्त सामाजिक सञ्जाल पुनः सक्रिय पार्नुपर्ने, पुराना नेताहरूले पुनः प्रधानमन्त्री नहुने प्रतिबद्धता जनाउनुपर्ने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा राजनीतिक आधारमा आयुक्त नियुक्त नगर्नुपर्ने जस्ता माग गरेका छन्।

प्रसाईँले केही दिनअघि फेसबुकमा स्टाटस लेख्दै भोलिको आन्दोलनमा सहभागी हुने घोषणा गरेका थिए। तर, आइतबार अपराह्न माइतीघरमा छलफल गरिरहेका जेन जेड युवाहरूले उनको सहभागिता अस्वीकार गर्ने निर्णय गरेका थिए। उनीहरूले प्रसाईँलाई फोनमार्फत ‘नआउनुहोस्’ भनेर आग्रहसमेत गरेका थिए।

यसपछि प्रसाईँले फोनमै आफू आन्दोलनमा सहभागी नहुने प्रतिबद्धता जनाएका थिए। “म भोलि आउँदिनँ भाइ हो, आन्दोलन राम्रोसँग गर्नू,” उनले जेन-जी सदस्यलाई बताएका स्रोतले जनायो।

जेन-जीले सोमबार बिहान ९ बजे माइतीघरबाट बानेश्वरसम्म मार्चपास गर्ने कार्यक्रम राखेका छन्। आन्दोलनमा कसैले सम्बोधन गर्ने छैनन् तर कविता र गीत प्रस्तुत गर्ने व्यवस्था गरिएको छ।

प्रतिक्रिया