
सरकारको कडाइपछि केवल ‘हाम्रो पात्रो’ र ‘एक्स’ मात्रै सम्पर्कमा
काठमाडौं – नेपालमा दर्ता नभएका २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयपछि अधिकांश प्लेटफर्म चुपचाप रहेका छन्। तर, केहीले मात्र तुरुन्तै प्रतिक्रिया जनाएका छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता एवम् सहसचिव गजेन्द्रकुमार ठाकुरका अनुसार अहिलेसम्म ‘हाम्रो पात्रो’ र ‘एक्स’ (पूर्व ट्विटर) मात्र सम्पर्कमा आएका छन्।
उनले भने, “हाम्रो पात्रोले बिहीबार नै दर्ता प्रक्रिया सुरु गर्यो, त्यसैले उक्त एप बन्द हुनबाट जोगियो। एक्सले पनि प्रक्रियाबारे बुझिसकेको छ। तर बाँकी २४ वटा एप सञ्चालनकर्ता सरकारसँग सम्पर्कमा आएका छैनन्।”
सरकारको निर्देशनअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबारै इन्टरनेट सेवा प्रदायकहरूलाई पत्र पठाई सूचीकरण नभएका २६ प्लेटफर्म बन्द गर्न आदेश दिएको थियो।
आजको सरकारी कार्यालय समय सकिन लागिसकेको र शनिबार नेपालमा बिदा भएकाले नयाँ सम्पर्क आउने सम्भावना कम देखिएको प्रवक्ता ठाकुरले बताए। आइतबार अन्य मुलुकमा पनि बिदा पर्न जाने भएकाले कम्पनीहरू सोमबारमात्र सक्रिय हुने अनुमान गरिएको छ।



कागजपत्र |
