
एपीएफ अस्पतालमा दुई घण्टामै क्षयरोगको रिपोर्ट दिने मेसिन
काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सशस्त्र प्रहरी बल (एपीएफ) अस्पताल, बलम्बुमा अत्याधुनिक क्षयरोग परीक्षण मेसिन हस्तान्तरण गरी क्षयरोग उपचार सेवा सुरु गरेको छ ।
सोमबार आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मेसिन हस्तान्तरण गर्दै सेवाको औपचारिक शुभारम्भ गरे । कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पौडेलले क्षयरोगमुक्त नेपाल निर्माणका लागि मन्त्रालय निरन्तर सक्रिय रहेको बताए ।
‘क्षयरोगलाई सकेसम्म छिटो पहिचान गरेर हजारौँ नागरिकको जीवन बचाउन मन्त्रालय पूर्ण प्रतिबद्ध छ,’ मन्त्री पौडेलले भने, ‘आज जडान भएको यो अत्याधुनिक मेसिनले क्षयरोगको निदानमा क्रान्तिकारी योगदान दिनेछ ।’
यसअघि एपीएफ अस्पतालमा क्षयरोग परीक्षण सुविधा नहुँदा उपचारका लागि आएका बिरामीहरूलाई अन्यत्र जानुपर्ने बाध्यता थियो । नयाँ सेवाले सशस्त्र प्रहरीका कर्मचारी, उनीहरूको परिवार मात्र नभई सर्वसाधारणलाई समेत छिटो र भरपर्दो सेवा उपलब्ध गराउनेछ ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. श्रीराम तिवारीका अनुसार, जडान भएको मोलिक्युलर टेस्ट मेसिनले अब बिरामीलाई दुई घण्टाभित्र क्षयरोगको रिपोर्ट उपलब्ध गराउनेछ ।
करिब ५० लाख रुपैयाँको लागतमा खरिद गरिएको उक्त मेसिन मन्त्रालयले अस्पताललाई हस्तान्तरण गरेको हो । मन्त्रालयले हालसम्म १२८ वटा अस्पताल र स्वास्थ्य संस्थामा क्षयरोग परीक्षण सुविधा विस्तार गरिसकेको छ । एपीएफ अस्पतालमा सुरु भएको सेवा राष्ट्रिय क्षयरोग नियन्त्रण अभियानलाई थप सुदृढ गर्ने अपेक्षा गरिएको छ ।



कागजपत्र |
