नापी अधिकृत यादवविरुद्ध ५ करोड ७९ लाखको भ्रष्टाचार मुद्दा, श्रीमती–छोरासमेत प्रतिवादी


रुपन्देही- रुपन्देहीको नापी कार्यालय भैरहवामा लामो समयदेखि कार्यरत नापी अधिकृत सुग्रीव यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  प्रमाणसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार यादवले कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दै सरकारी जग्गा प्लट मिलान गर्ने नाममा व्यक्तिको नाममा पास गर्ने, करोडौंको आर्थिक चलखेल गर्ने र गैरकानुनी सम्पत्ति आर्जन गर्ने जस्ता गतिविधि गरेका थिए।

शुक्रबार विशेष अदालतमा दायर गरिएको मुद्दामा यादवविरुद्ध ५ करोड ७९ लाख ६२ हजार ४४० रुपैयाँ बिगो कायम गरिएको छ।

२०५३ साल असार १३ देखि २०८१ साल असार १६ गतेसम्मको करिब २८ वर्षको अवधिमा यादव परिवारसहितको कुल आय करिब ९ करोड ३ लाख रुपैयाँ मात्र देखिएको भए पनि खर्च तथा लगानी भने १४ करोड ८३ लाख रुपैयाँभन्दा बढी भएको पाइएको छ। सोही आधारमा करिब ५ करोड ७९ लाख रुपैयाँ बराबरको स्रोत नखुलेको सम्पत्ति आर्जन भएको आयोगको दाबी छ।

आयोगले यादवले सम्पत्ति विवरण लुकाएर झूटो विवरण दिएको, सरकारी पदको दुरुपयोग गर्दै अनुचित सम्पत्ति आर्जन गरेको प्रमाणित भएको दाबी गर्दै गैरकानुनी सम्पत्ति जफत गरी सो बराबर बिगो असुल गर्न माग गरेको छ।

यसबाहेक, यादवले आर्जन गरेको सम्पत्तिको केही अंश श्रीमती गायत्री यादव तथा छोराहरू सुधान्सु र शुभम यादवको नाममा समेत दर्ता भएको पाइएकोले उनीहरूलाई समेत प्रतिवादी बनाइएको आयोगले जनाएको छ।

प्रतिक्रिया