
राजनीति छाडेको घोषणा गर्दै गोरखाका वडाध्यक्ष जर्मनीतिर
काठमाडाैं — गोरखाकाे चुमनुब्री गाउँपालिका–६ का वडाध्यक्ष सरोज लामा फेसबुकमार्फत राजनीति छाडेको घोषणा गर्दै जर्मनी प्रस्थान गरेका छन्।
नेकपा माओवादीबाट निर्वाचित लामा राजनीतिक यात्राबाट असन्तुष्ट हुँदै पद र जिम्मेवारी त्यागेर बिदेसिएका हुन्। उनले आफ्नो फेसबुक स्टाटसमार्फत, “जति इमानदारीका साथ काम गरे पनि जस कहिल्यै पाइएन, त्यसैले अब राजनीतिबाट सदाको लागि विदा लिएर जिन्दगीलाई शून्यबाट पुनः सुरु गर्नुपर्छ,” भन्दै सन्यासको घोषणा गरेका छन्।
निर्वाचित जनप्रतिनिधिले नै पदमै रहँदा राजनीतिक प्रणालीप्रति असन्तुष्टि जनाउँदै बिदेसिनु ठूलो विवाद र आलोचनाको विषय बनेको छ। तर लामाले आफ्नो अनुपस्थितिमा वडाको काम र सेवामा कुनै असर नपर्ने दाबी गरेका छन्।
उनले वडाका सदस्य ठीले ग्याम्चे लामालाई कार्यवाहक जिम्मेवारी दिँदै औपचारिक पत्र गाउँपालिकामा पठाएका छन्। प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेका अनुसार लामाले फर्किनसक्ने वा नफर्किने विषय खुलाएको छैन, तर हाललाई वडाको सम्पूर्ण जिम्मेवारी कार्यवाहक अध्यक्षले नै सम्हाल्नेछन्।



कागजपत्र |
