
हैजा फैलिएपछि वीरगञ्जका विद्यालयहरू २ दिन बन्द, खानेपानी परीक्षण
वीरगञ्ज- वीरगञ्ज महानगरपालिकामा हैजाको प्रकोप समुदायस्तरमै फैलिएपछि महानगरभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरू दुई दिनका लागि बन्द गरिएका छन् ।
महानगरको शैक्षिक प्रशासन महाशाखाले आइतबार र सोमबार (भदौ ७ र ८) सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन रोक्ने निर्णय गरेको हो । हैजाको बढ्दो संक्रमणलाई ध्यानमा राख्दै सम्पूर्ण विद्यालय बन्द गरिएको सूचनामा उल्लेख छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरका अनुसार शनिबार अबेर रातिसम्म वीरगञ्जका विभिन्न अस्पतालमा उपचाररत बिरामीमध्ये ४२ जनामा हैजा पुष्टि भएको छ भने १२९ जना उपचाररत छन् । हैजा मुख्यतया वीरगञ्ज महानगरपालिका-११, १२, १३ र १६ नम्बर वडामा फैलिएको छ ।
शुक्रबार राति मुर्ली टोल (वडा-१२) का स्थानीयमा हैजाको संक्रमण देखिएपछि स्वास्थ्यकर्मी परिचालन गरिएको थियो । शनिबारसम्म आइपुग्दा संक्रमण चार वडासम्म फैलिएको ठाकुरले जानकारी दिए । उनका अनुसार, पछिल्लो १० वर्षमा पहिलोपटक पर्सा जिल्लामा हैजाको प्रकोप देखिएको हो ।
भिब्रियो कोलरी नामक जीवाणु दूषित खाना वा पानीमार्फत शरीरमा प्रवेश गरेपछि हैजा लाग्ने गर्दछ । यस रोगका लक्षणमा निरन्तर झाडापखाला, वान्ता, पेट दुखाइ, शरीरमा पानी कमी, मांसपेसी दुख्ने, आँखा गाडिने र ज्वरो आउने देखिन्छ । समयमै उपचार नपाए मृत्यु समेत हुन सक्ने जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
ठाकुरका अनुसार हालसम्म हैजाको लक्षण देखिएका दुई जनाको मृत्यु भएको छ । मृतकमध्ये पोखरिया नगरपालिका-९ की एक महिला र वीरगञ्ज महानगरपालिका-१२ का एक पुरुष रहेका छन् । उनीहरूमा झाडापखालाको लक्षण देखिएको भए पनि हैजाकै कारण मृत्यु भएको भन्ने पुष्टि भइसकेको छैन ।
उनले भने, “२८ साउनदेखि मुर्ली क्षेत्रमा फाट्टफुट्ट झाडापखाला भएका बिरामी देखिएका थिए । त्यसपछिका दिनमा संख्या बढ्दै गयो । आरडीटी परीक्षण गर्दा हैजा पुष्टि भयो । शनिबार रातिसम्म यो संख्या ४२ पुगेको छ । अब यो महामारीकै रूप लिएको छ भन्न सकिन्छ ।”
हैजाको संक्रमण देखिएका ११ स्थानका पानीका नमुना परीक्षणका लागि काठमाडौंस्थित टेकु प्रयोगशालामा पठाइएको जनाइएको छ ।
महानगरपालिकामा हैजा रोगको सङ्क्रमण फैलिँदै गएपछि खानेपानी परीक्षण तथा शुद्धीकरणलाई तीव्र बनाइएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागले हैजा प्रभावित क्षेत्रमा मोबाइल भ्यानसहितको प्राविधिक टोली परिचालन गरी तत्कालै पानी परीक्षण र शुद्धीकरणको काम अघि बढाएको हो ।
गत शुक्रबार वीरगञ्जमा तीन जनामा हैजा सङ्क्रमण पुष्टि भएको थियो भने शनिबार हैजाको लक्षण देखिएका तर पुष्टि नभएका दुई जनाको मृत्यु भएको जनाइएको छ । यसपछि हैजा नियन्त्रणका लागि सरकार र सम्बन्धित निकाय सक्रिय बनेका छन् ।
विभागका महानिर्देशक इन्जिनियर रामकुमार श्रेष्ठका अनुसार हैजा पुष्टि भएका क्षेत्रमा आवश्यक सामग्रीसहितको घुम्ती टोली खटाइएको छ । उनले भने, “हामीले त्यस क्षेत्रको खानेपानी परीक्षण गर्न तत्कालै मोबाइल टोली पठाएका छौँ । आवश्यक पर्ने थप सामग्री आज पठाइँदै छ ।”



कागजपत्र |
