
राजनीतिक दल खोल्ने दुर्गा प्रसाईंकाे घोषणा
काठमाडौं- दुई साताअघि डिल्लीबजार कारागारबाट रिहा भएका मेडिकल व्यवसायी र अभियन्ता दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन्। सोमबार आफ्नो निवासमा आयोजित पत्रकार सम्मेलनमा उनले दलको नाम छिट्टै सार्वजनिक गर्ने बताए।
प्रसाईंले भने, “भगवान रामचन्द्र पनि सीता लिन जाँदा आफैं जानुभयो। राजाको भूमिका कस्तो रहन्छ, त्यसमा भर पर्छ। मैले यहाँसम्म गरेँ। राजनीतिमा म नथाकेको छु। अब व्यवस्थामा बसेर व्यवस्था विरोधी आन्दोलन अघि बढाउनेछौं।”
उक्त पत्रकार सम्मेलनमा उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनप्रति गम्भीर आरोपसमेत लगाएका छन्। प्रसाईंले लिङ्देनमाथि बैंक ठग्ने, भारतबाट गाडी चोरी गरेर झापामा बेच्ने र सरकारसँग मिलेर आफूलाई छुरी हान्ने प्रयास गरेको आरोप लगाएका छन्।
सो अवसरमा प्रसाईंले ०८१ साल चैत १५ गते काठमाडौंको तीनकुने घटनाबारे पनि पहिलोपटक बताएका छन्। उनले करिब १० वर्षपछि पहिलोपटक गाडी चलाएको, आफूलाई मार्ने योजना बनेको थाहा पाएपछि प्रहरीकै अगाडि पुगेको र त्यसपछि मञ्चमा गएर प्रहरी र समर्थकलाई संयमित हुन आग्रह गरेको बताएका छन्।
प्रसाईंले त्यतिबेला उपत्यकामा कर्फ्यु लाग्दा काठमाडौं उपत्यका छाडिसकेको र आफूलाई इन्काउन्टर गर्ने आदेश आएको जानकारी पनि दिएका छन्। उनले भने, “यो देशमा मदन भण्डारी बाँचेको भए अरुको चान्स आउँदैनथ्यो। त्यसैले मदन भण्डारीलाई मारियो।”
प्रसाईंले पत्रकार सम्मेलनमा आफ्नो राजनीतिक दल खोल्ने कारणसमेत स्पष्ट पारेका छन्। उनले भने, “म राजनीतिक चेत बोकेको सफल व्यवसायी हुँ। मेरो परिवार र म भन्दा पनि नेपाल र नेपाली प्राथमिकतामा परेका छन्। राजनीतिले बिगारेको सुधारका लागि हामी बाध्य भएर राजनीतिमा संलग्न हुन लागेको हो। हाम्रो अभियानका साथीहरूसँग मिलेर दल खोल्ने अठोट गरेका छौं।”



कागजपत्र |
