
जनताको काम गर्न नसकेको भन्दै वडाअध्यक्ष शाहले दिए राजीनामा
दाङ- घोराही उपमहानगरपालिका–८ का वडा अध्यक्ष जितेन्द्र बहादुर शाहले पदबाट राजीनामा दिएका छन्। शाहले असार मसान्तमै राजीनामा बुझाए पनि नगरप्रमुख नरुलाल चौधरीले स्वीकृत गरी कार्यपालिका बैठकमार्फत अनुमोदन गराएका हुन्।
नगरप्रमुख चौधरीले भने, “राजीनामा नगरप्रमुखले स्वीकृत गर्ने प्रावधान छ। असार मसान्तमै स्वीकृत भएको थियो, आजको कार्यपालिकाले त्यसलाई अनुमोदन गरेको छ।”
कार्यपालिकाले अनुमोदन गरेसँगै शाह औपचारिक रूपमा अध्यक्ष पदबाट हटेका छन्।
शाह २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) तर्फबाट उम्मेदवार बनेर वडा अध्यक्षमा निर्वाचित भएका थिए। तर, उनले जनताको काम प्रभावकारी रूपमा गर्न नसकेको भन्दै पटक–पटक नगरप्रमुखलाई राजीनामा बुझाउँदै आएका थिए। यसबीचमा एमालेले समेत उनलाई कारबाही गरेको थियो।
शाहको राजीनामापछि वडा सदस्य चुडामणि चौधरीलाई कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी तोकिएको नगरप्रमुख चौधरीले जानकारी दिए।



कागजपत्र |
