छत्तीसगढमा नक्सलवादीद्वारा २२ सुरक्षाकर्मीको हत्या


छत्तीसगढ – भारतमा नक्सलवादीहरुको आक्रमणमा परी कम्तीमा २२ सुरक्षाकर्मीको मृत्यु भएको छ । भारतको छत्तीसगढ प्रदेश अन्तर्गत पर्ने विजपुरमा शनिबार घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

‘छत्तीसगढको सुक्मा-विजपुरमा नक्सल विद्रोहीहरुको आक्रमणमा परी कम्तीमा २२ सुरक्षाकर्मीको ज्यान गएको छ,’ स्थानीय प्रहरी प्रमुख कमलोचन कश्यपले बताए । घटनामा परी अरु ३१ जना घाइते पनि भएको उनले जानकारी दिए ।

छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेलले घटनामा परी घाइते भएकाहरु खतरामुक्त रहेको बताए । उनले अरु २१ जना प्रहरी सम्पर्कविहीन रहेको र उनीहरुको खोजी भइरहेको जनाइएकाे छ ।  केन्द्रीय गृहमन्त्री अमित शाहले फोन गरेर उद्धार तथा खोजीका बारेमा चासो राख्नु भएको पनि मुख्यमन्त्री बघेलले बताए ।

प्रतिक्रिया