मुख्यमन्त्री बानियाँले मन्त्रिपरिषद् विस्तार गर्दै


हेटौंडा-  बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज (शुक्रबार) मन्त्रिपरिषद् विस्तार गर्दै नेपाली कांग्रेसको कोटाबाट पाँच जना मन्त्री नियुक्त गर्न लागेका छन्।

मुख्यमन्त्री निकट स्रोतका अनुसार काभ्रे प्रदेश निर्वाचन क्षेत्र २(२) का सांसद कञ्चनचन्द्र वादे, रसुवाको प्रदेश निर्वाचन क्षेत्र १(१) का सांसद प्रभात तामाङ, भक्तपुर प्रदेश निर्वाचन क्षेत्र १(१) का सांसद सुरेश श्रेष्ठ, ललितपुरकी समानुपातिक सांसद उर्मिला नेपाल र चितवनकी समानुपातिक सांसद बिनु रायमाझीलाई मन्त्री बनाउने तयारी गरिएको हो।

आज दिउँसो ३ बजे प्रदेश प्रमुख कार्यालयमा शपथग्रहण कार्यक्रम तय भएको छ। तर उनीहरूलाई कुन–कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने टुंगो भने बाँकी छ।

कांग्रेस र एमालेबीच भएको सत्ता–भागबण्डाअनुसार कांग्रेसको भागमा मुख्यमन्त्रीसहित ८ र एमालेको भागमा ६ मन्त्रालय परेका छन्। साउन २० गते नियुक्त मुख्यमन्त्री बानियाँले त्यस दिन एमालेका ६ र कांग्रेसका २ मन्त्रीलाई मात्र नियुक्त गरेर मन्त्रिपरिषद् गठन गरेका थिए।

त्यसयता खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी कृष्णकुमार तामाङलाई दिइएको छ भने शिवराज अधिकारीलाई हालसम्म बिनाविभागीय राखिएको छ। अधिकारीलाई पनि आजै विभागीय जिम्मेवारी तोकिने सम्भावना छ।

प्रदेश सरकारको वर्तमान सन्दर्भमा कांग्रेसका पाँच मन्त्रालय अझै रिक्त छन्, जसमा आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना, सामाजिक विकास, युवा तथा खेलकुद, र सहकारी तथा गरिबी निवारण मन्त्रालय रहेका छन्। आजको नियुक्तिबाट यी मन्त्रालयमा पदपूर्ति हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया