काठमाडौं प्रहरीकाे वार्षिक प्रतिवेदन: १६१ पुरस्कृत, २ हजार ७२२ आगलागीका घटना रेकर्ड


काठमाडौं- काठमाडौं प्रहरीले गत आर्थिक वर्षमा उत्कृष्ट कार्यसम्पादन गर्ने १६१ जना प्रहरी कर्मचारीलाई सम्मान गरेको छ। पुरस्कार पाउनेमा प्रहरी उपरीक्षकदेखि कार्यालय सहयोगीसम्म रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी विश्वराज अधिकारीका अनुसार, त्यस्तै १५८ जना प्रहरी कर्मचारी कारबाहीमा परेका छन्। यसमा प्रहरी निरीक्षक २, नायव निरीक्षक ४, सहायक निरीक्षक ७ र वरिष्ठ हवल्दार ७ जना रहेका छन्। त्यसैगरी, १७८ जनाले राजीनामा दिएका छन्।

उक्त वार्षिक प्रतिवेदन अनुसार, काठमाडौँ उपत्यकामा गत आर्थिक वर्षमा आगलागीका घटना डरलाग्दो रूपमा बढेका छन्। कुल २ हजार ७२२ घटनामध्ये १ हजार ८७६ घटना बिजुलीका पोलमा तार सर्ट भएर भएका थिए।

एसएसपी अधिकारीले भने, “अधिकांश आगलागी पूर्वाधारको कमजोरी, अव्यवस्थित तार र पुरानो प्रणालीका कारण भएको देखिन्छ। यसले जनधनको ठूलो क्षति निम्त्याउन सक्छ।”

प्रहरीले आगलागी नियन्त्रणका लागि तत्काल घटनास्थलमा पुग्ने गरेको छ र नेपाल विद्युत प्राधिकरणसँग समन्वय बढाउन आवश्यक रहेकोमा जोड दिएको छ।

यसैगरी, गत आर्थिक वर्षमा काठमाडौँ प्रहरीको आपत्कालीन हटलाइन ‘१००’ मा ४ लाख २८ हजारभन्दा बढी कल आएको छ। दैनिक औसतमा ११–१२ सय कल दर्ता हुने गरेको छ।

एसएसपी अधिकारीले भने, “‘१००’ नम्बर नागरिक र प्रहरीबीचको प्रत्यक्ष पुल हो। झगडा, घरेलु हिंसा, सवारी दुर्घटना, चोरी र आगलागी घटनासँग सम्बन्धित कलहरू सबैभन्दा बढी आएका छन्।”

प्रहरीको तथ्याङ्कअनुसार, घटनास्थलमा प्रहरीको प्रतिक्रिया द्रुत भएको छ। ४२ प्रतिशत घटनामा प्रहरी ५ मिनेटभित्र, २४ प्रतिशतमा ५–१० मिनेटभित्र पुग्न सफल भएको छ।

प्रतिक्रिया