
इन्द्र बानियाँलाई विश्वासको मत दिन एमालेको पनि ह्वीप
काठमाडाैं- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन सत्ता साझेदार दल नेकपा एमालेले ह्वीप जारी गरेको छ। प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित भएर मुख्यमन्त्रीको पक्षमा मतदान गर्न एमाले संसदीय दलले २७ साउन दिउँसो १ बजे बैठक बसेर निर्णय गरेको हो।
गत २० साउनमा मुख्यमन्त्री नियुक्त भएका बानियाँले २७ साउन मंगलबार विश्वासको मत लिन प्रदेशसभा बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ। नेपाल संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिने व्यवस्था गरिएको हो।
यसअघि कांग्रेसले पनि मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन ह्वीप जारी गरिसकेको छ। ललितपुर भैंसेपाटीस्थित मुख्यमन्त्री निवासमा शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकले बैठकमा अनिवार्य उपस्थित हुने, तटस्थ नबस्ने र विश्वासको मतको पक्षमा मतदान गर्ने ह्वीप जारी गरेको थियो।
एमाले र कांग्रेस दुबै दलको समर्थनसहित मुख्यमन्त्री बानियाँलाई विश्वासको मत पाउने अपेक्षा गरिएको छ।



कागजपत्र |
