राष्ट्रपति भवनमा रविन्द्र ढाँटको अपमान ?


काठमाडाैं-  एमएमए (मिक्स्ड मार्सल आर्ट्स) फाइटर रविन्द्र ढाँटले भारतमा भएको म्याट्रिक्स फाइट नाइट टाइटल जितेर नेपालको नाम अन्तर्राष्ट्रिय मञ्चमा उच्च बनाएका छन्। ‘बझाङको बाघ’ उपनामले परिचित ढाँटको ऐतिहासिक जितप्रति सम्मान व्यक्त गर्दै बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शीतल निवासमा स्वागत गरेका थिए।

कार्यक्रममा उनले भनेका थिए,  “देश-विदेशका प्रतियोगितामा प्रतिस्पर्धा र प्रशिक्षणको अवसरसँगै आवश्यक सुविधा दिएर खेलाडीको सम्मान गर्न सके मात्रै हाम्रा खेलाडीहरूले किर्तिमान र सफलता हासिल गर्न सक्छन्।” उनले रविन्द्र ढाँटको उपलब्धिलाई ‘गौरवको विषय’ भन्दै बधाईसमेत दिएका थिए।

तर उक्त कार्यक्रममा अपेक्षित सम्मान नपाएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएकाे छ। कार्यक्रमको स्वरूपप्रति असन्तुष्टि जनाउँदै भ्लगर सिसन बानियाँले तीव्र आक्रोश पोखेका हुन्।

इन्स्टाग्राममा स्टोरीमा उनले लेखेका छन्:

“रविन्द्र ढाँटलाई राष्ट्रपति निवास पुगेर त्यहाँको गरिमा बढाइदिएकोमा धन्यवाद। तर वास्तविक रूपमा भन्नुपर्दा, च्याम्पियनप्रति कुनै सम्मान देखिएन। एउटा माला लगाइयो, पाँच मिनेटको टिपिकल भाषण दिइयो, फोटो र भिडियो खिचियो अनि काम सकियो। हामीलाई चाहिँ ‘चिया-बिस्कुट खाएर जानुस्’ भनियो। त्यो भयानक हलमा ढाँटले एउटा कप चिया मात्र खाए। २० मिनेटसम्म सबैसँग ‘सिङ्गल’ फोटो खिचे। के यसरी सम्मान गरिन्छ राष्ट्रका च्याम्पियनहरूलाई  ? हाम्रा केटाहरूले यति धेरै मिहिनेत गर्छन् तर पुरस्कार यस्तै हो ? यदि तपाईंहरू च्याम्पियनको प्रचार गरेर फाइदा उठाउन चाहनुहुन्छ भने, पैसा दिनुस् ! नायकहरूलाई इनाम दिनुस् !!”

चर्चित भ्लगर सिसन बानियाँ रविन्द्र ढाँटका पुराना साथी र प्रारम्भिक दिनदेखि नै उनलाई डिजिटल माध्यमबाट साथ दिँदै आएका व्यक्ति हुन्। ढाँटको सामाजिक सञ्जाल व्यवस्थापन, भिडिओ प्रमोशनदेखि अन्तर्राष्ट्रिय स्तरमा उनको छवि निर्माणमा सिसनको महत्वपूर्ण भूमिका रहँदै आएको छ। रविन्द्रको सफलता पछाडि दृश्यतर नभए पनि सिसन बानियाँजस्ता समर्थकहरूको लगनशीलता पनि बराबरी जिम्मेवार छ।

ढाँटको सम्मानमा उनको जन्मथलो बझाङका विभिन्न स्थानीय तहले खुलेर साथ दिइरहेका छन्। बित्थडचिर गाउँपालिकाले एक लाख रुपैयाँ दिने घोषणा गरिसकेको छ भने दुर्गाथली, सैपाल र तलकोट गाउँपालिकाले एक लाखभन्दा बढी रकमले सम्मान गर्ने प्रतिवद्धता जनाएका छन्। त्यस्तै देशभरका विभिन्न क्षेत्रबाट उनलाई सम्मान र सहयोग दिने लहर चलेको छ।

तर संघीय सरकार वा खेलकुद मन्त्रालयको तर्फबाट अहिलेसम्म कुनै प्रकारको नगद पुरस्कार वा दीर्घकालीन प्रोत्साहन कार्यक्रम घोषणा गरिएको छैन। च्याम्पियन खेलाडीलाई एउटा मालाले सम्मान गरेर टुंग्याउने रवैयाप्रति धेरैले प्रश्न उठाएका छन्।

नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने अवसर दिलाउने यस्ता खेलाडीहरूलाई राज्यले कति प्राथमिकता दिन्छ भन्ने प्रश्न अहिले सामाजिक सञ्जालमा व्यापक छलफलको विषय बनेको छ।

प्रतिक्रिया