माओवादी विभाजनका लागि षड्यन्त्र जारी रहेको प्रचण्डको आरोप


काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति सम्झौता पश्चातदेखि नै माओवादी पार्टीलाई विभाजन गर्न षड्यन्त्र भइरहँदै आएको आरोप लगाएका छन्।

आइतबार दोलखामा आयोजित ‘बोत्ले हत्याकाण्ड’ स्मृति सभालाई सम्बोधन गर्दै उनले प्रतिक्रियावादी शक्तिहरूले पटक–पटक पार्टी विभाजन गर्ने उद्देश्यले विभिन्न षड्यन्त्र र जालझेल गर्दै आएको दाबी गरे।

उनले भने, ‘‘हामी शान्ति प्रक्रियामा आउँदादेखि नै प्रतिक्रियावादीहरूले हाम्रो पार्टीलाई विभाजन गर्न निरन्तर षड्यन्त्र, जालझेल र लगानी गर्दै आएका छन्।’’

अध्यक्ष प्रचण्डले अहिले फेरि प्रतिक्रियावादविरुद्ध नयाँ खालको आन्दोलन र विद्रोह आवश्यक रहेको धारणा व्यक्त गरे। ‘‘नयाँ आन्दोलन र विद्रोहले फेरि जन्म लिनेछ भन्ने विश्वाससहित अगाडि बढ्दै छौं,’’ उनले भने, ‘‘नयाँ खालको विद्रोहबाट प्रतिक्रियावादीलाई परास्त गर्नुपर्छ भन्ने संकल्पका साथ हामी हिँडिरहेका छौँ।’’

उनले आफ्नो प्रतिबद्धता पनि यही रहेको र त्यसको तयारीमा आफू लागेको स्पष्ट पारे।

कार्यक्रममा उनले विगतको सशस्त्र द्वन्द्वका क्रममा हजारौं सहिदको बलिदान स्मरण गर्दै अहिले ती सहिदहरूको महानता र योगदानमाथि अपमान गर्ने प्रयास भइरहेको पनि आरोप लगाए।

प्रतिक्रिया