
सप्तरीमा लालपुर्जा पीडितको बृहत बैठक, आन्दोलनको घोषणा
राजविराज- झण्डै ६५ वर्षदेखि लालपुर्जाको प्रतीक्षामा रहेका राजविराजका ब्लक र बिटौरी क्षेत्रमा बसोबास गर्ने ५ हजारभन्दा बढी पीडित परिवारले पुनः आन्दोलन चर्काउने भएका छन्। लालपुर्जा नपाएको पीडामा वर्षौंदेखि संघर्षरत उनीहरूले बिहीबार सम्पन्न एक बृहत भेलाबाट आन्दोलनलाई नयाँ चरणमा लैजाने निर्णय गरेका हुन्।
उक्त बैठक संघर्ष समितिका संयोजक इरसाद अन्सारी, वार्ता टोलीका सदस्य दीपेन्द्र चौधरी, जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साह, र सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष लालुप्रसाद अग्रवालसहितको नेतृत्वमा सम्पन्न भएको थियो। भेलाले लामो समयदेखि लालपुर्जा नपाउँदा नगरवासीको जीवन कष्टकर बनेको भन्दै आन्दोलन बाहेक विकल्प नरहेको निष्कर्ष निकालेको हो।
संघर्ष समितिका संयोजक अन्सारीले यसअघि फागुन १८ गते नगरपालिका, स्थानीय प्रशासन, सुरक्षा निकाय, नापी र मालपोत कार्यालयलगायतका प्रमुखहरूको उपस्थितिमा भएको सहमति कार्यान्वयनमा ढिलाइ भएको आरोप लगाए। “तत्कालीन सहमतिअनुसार १५ दिनभित्र समस्या समाधान गर्ने भनिएको थियो, तर कार्यान्वयन नहुँदा फेरि आन्दोलनमा जान बाध्य भएका छौं,” उनले भने।
सप्तरी उद्योग वाणिज्य संघले आन्दोलन व्यवस्थापनका लागि संघर्ष समितिको कोषमा ५१ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ। साथै, भेलाले दीपेन्द्र चौधरीको संयोजकत्वमा ७ सदस्यीय आन्दोलन परिचालन उपसमिति र बिन्देश्वर प्रसाद साह ‘बिन्दी’को संयोजकत्वमा ७ सदस्यीय आर्थिक संकलन समिति गठन गर्ने निर्णय पनि गरेको छ।
संघका अध्यक्ष लालुप्रसाद अग्रवालले लालपुर्जा नपाउँदा उद्योगी–व्यवसायीहरू थप मारमा परेको बताए। “विगतमा नगरपालिकाबाट प्राप्त रसिदका आधारमा बैंकमा धितो राखेर कर्जा लिने सुविधा पाइन्थ्यो, तर पछिल्ला ८ वर्षदेखि त्यो सेवा रोकिनु व्यापार व्यवसायका लागि विनाशकारी साबित भएको छ,” उनले भने।
उनका अनुसार, लालपुर्जा नपाउँदा यहाँका कतिपय सटर खाली भइरहेका छन्, उद्योगी–व्यवसायी आत्महत्या गर्न बाध्य भएका छन् र धेरै पलायन भइसकेका छन्। अग्रवालले अब आन्दोलन नरोकिने स्पष्ट पारे।
जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साहले राजविराज नगरपालिका स्थापना भएको २०१६ सालदेखि नै मुख्य सडक क्षेत्र आसपासको करिब ७० विघा क्षेत्रमा बसोबास गर्ने ५ हजार २ सय परिवार लालपुर्जाबाट वञ्चित रहेको बताए। उनले पनि अब शसक्त आन्दोलन बाहेक विकल्प नरहेको स्पष्ट पारे।
संघर्ष समितिका संयोजक अन्सारीका अनुसार, अघिल्ला चरणमा बजार बन्द, कालो झण्डा, नापी तथा नगरपालिका कार्यालयमा धर्ना र हस्ताक्षर अभियानजस्ता कार्यक्रम भए पनि आश्वासनबाहेक केही नपाइएको हो। उनले अबको आन्दोलन फरक स्वरूपको हुने र २–३ दिनभित्र कार्यक्रम सार्वजनिक गरिने जानकारी दिए।
नगरवासीले चुनावका बेला आफ्नो मुद्दा सबै दलको प्राथमिकतामा पर्नु तर चुनाव सकिएपछि बिर्सनु नियतिगत धोका भएको गुनासोसमेत गरेका छन्।



कागजपत्र |
