
काठमाडौंको खाजा घरबाट ५४ ग्राम लागुऔषधसहित ७ जना पक्राउ
काठमाडौं- लागुऔषधसहित प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। तारकेश्वर नगरपालिका–५ गोलढुंगास्थित एक खाजा घरबाट ५४.५९ ग्राम लागुऔषधसहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अपीलराज बोहोराले जानकारी दिए।
उनका अनुसार पक्राउ पर्नेहरूमा सिन्धुलीको सुनकोशी गाउँपालिका–३ का ३१ वर्षीय शंख बुद्ध लामा, धादिङको थाक्रे गाउँपालिका–१ का ३० वर्षीय विदुर कमर, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८ का रमेश तामाङ, नुवाकोटको शिवपुरी गाउँपालिका–४ का ३५ वर्षीय मनोज विक, रामेछाप नगरपालिका–२ का ३५ वर्षीय कृष्णबहादुर कार्की, तारकेश्वर नगरपालिका–१० का ४८ वर्षीय विकास थापा र झापाको भद्रपुर नगरपालिका–४ का ३४ वर्षीय गुड्डु अहमद रहेका छन्।
शनिबार पक्राउ परेका उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिहरूसँगै एउटा मोटरसाइकल, ६९ हजार ५ सय रुपैयाँ नगद र १० थान मोबाइलसमेत बरामद गरिएको छ।



कागजपत्र |
