दीपेन्द्र अग्रवाललाई हिरासत राख्न ४ दिन म्याद थप


काठमाडौं- ठगी र विश्वासघातको आरोपमा पक्राउ परेका सेयर कारोबारी दीपेन्द्र अग्रवालको हिरासत अवधि थप ४ दिन लम्बिएको छ। शुक्रबार काठमाडौं जिल्ला अदालतले उनलाई थप अनुसन्धानका लागि थुनामा राख्न अनुमति दिएको हो।

टोखाबाट गत सोमबार पक्राउ परेका अग्रवाललाई प्रहरीले प्रारम्भिक रूपमा ३ दिनको म्याद लिएर अनुसन्धान सुरु गरेको थियो। बिहीबार एक दिनको म्याद थप गरेपछि शुक्रबार फेरि अदालतमा उपस्थित गराइएपछि थप ४ दिन हिरासतमा राख्न आदेश दिइएको हो।

जिल्ला प्रहरी परिसर, काठमाडौंको अनुसार अग्रवालले धनुषाका ६० वर्षीय दिनेशप्रसाद साहसँग सेयर दिने प्रलोभन देखाएर ६ करोड ४५ लाख रुपैयाँ ठगी गरेका छन्। साहले न त सेयर पाएका छन्, न त लगाएको पैसा फिर्ता पाएका छन्। यसबारे उजुरी परेपछि अग्रवालविरुद्ध ३० असारमा अदालतबाट पक्राउ पूर्जी जारी भएको थियो।

ठगीमा अग्रवालसहित अन्य दुई जना संलग्न रहेको खुलेको छ भने बाँकी दुईजनाको परिचय प्रहरीले खुलाएको छैन। अग्रवालले सेयर बजारमा अनावश्यक हल्ला फैलाएर मूल्य कृत्रिम रूपमा बढाउने, लगानीकर्तालाई भ्रममा पार्ने, र १५ वटा टीएमएस खाता प्रयोग गरेर आफैं खरिद–बिक्री गरी सेयर मूल्य हेरफेर गरेको आरोप पनि लागेको छ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले समेत अग्रवालको सेयर कारोबारबारे अनुसन्धान अघि बढाइसकेको जनाएको छ।

प्रतिक्रिया