
झापामा अत्यधिक रक्सी खाँदा दुई जनाको मृत्यु
झापा- अत्यधिक मदिरा सेवनका कारण झापामा दुई जनाको ज्यान गएको छ। एक जना कन्काई नगरपालिकामा र अर्का बिर्तामोडमा मृत फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज बिहान कन्काई नगरपालिका–४ स्थित सडक किनारमा ६० वर्षीय चन्द्र शिवाकोटीको शव फेला परेको हो। शिवसताक्षी नगरपालिका–११ घर भई हाल कन्काई–४ मा बस्दै आएका शिवाकोटी ज्यालादारी काम गर्दै आएका थिए। प्रहरीका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार शिवाकोटी अत्यधिक रक्सी सेवन गर्ने व्यक्तिका रूपमा चिनिन्थे।
त्यस्तै, विर्तामोड नगरपालिका–६ शुभबिहानी टोलस्थित सुँगुर फार्ममा ६५ वर्षीय डम्बरबहादुर मगर मृत अवस्थामा फेला परेका छन्। उनकाे स्थायी ठेगाना भारतको सिक्किम रहेको प्रहरीले जनाएको छ। उनी स्थानीय सरोज लावतीले सञ्चालन गर्दै आएको सुँगुर फार्ममा काम गर्दै आएका थिए।
मगर सुँगुरलाई चारो खुवाउने र खोरको हेरचाह गर्ने जिम्मेवारीमा थिए। प्रहरीका अनुसार उनी पनि अत्यधिक रक्सी सेवन गर्ने व्यक्ति थिए। उनको शव खोरको भुइँमा घोप्टिएको अवस्थामा भेटिएको थियो।
‘मृत भेटिएका दुवै जना अत्यधिक मदिरा सेवन गर्दै आइरहनुभएको अनुसन्धानमा खुलेको छ,’ सूचना अधिकारी खड्काले भने, ‘घटनाको थप अनुसन्धान भइरहेको छ।’
केही दिनदेखि झापामा तापक्रम उच्च रहेको, गर्मीको समयमा अत्यधिक रक्सी सेवन गरी सुतेका कारण उनीहरूको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ। शिवाकोटीको शव सडक छेउमा खाली खुट्टा र भुइँमा पल्टिएको अवस्थामा भेटिएको थियो भने मगरको शव खोरभित्र घोप्टिएको अवस्थामा फेला परेको थियो।



कागजपत्र |
