
लेक लागेर वर्षदिनमा १३ पर्यटकले गुमाए ज्यान
मुस्ताङ – मुस्ताङका पर्यटकीय स्थलमा घुम्न र तीर्थयात्राका लागि गत आर्थिक वर्ष २०८१/८२ मा आएका १३ जना स्वदेशी र विदेशी पर्यटकको लेक लागेर मृत्यु भएको छ । शरद र वसन्त ऋतुमा सडक र हवाईमार्ग हुँदै मुस्ताङ प्रवेश गरेका आठ विदेशी र पाँच नेपालीले ज्यान गुमाएका हुन् ।
उच्च क्षेत्रमा भ्रमणका क्रममा अचानक सिकिस्त भएर उपचार गर्ने क्रममा तथा घटनास्थलमै पर्यटकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी विशाल अधिकारीले जानकारी दिए ।
गत आवमा सात जना भारतीय तीर्थयात्री र एक जना अमेरिकी नागरिकको मृत्यु भएको थियो । मृत्यु हुने नेपालीमध्ये दुई जना पुरुष उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका–४ मा रहेको दामोदरकुण्डबाहेक सबै भारतीय र नेपाली बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा अवस्थित मुक्तिनाथ मन्दिरको दर्शनका लागि जाने र फर्किने व्रmममा मृत्यु भएको प्रहरी निरीक्षकसमेत रहेका अधिकारीले बताए ।
लेक लागेर मृत्यु हुने पर्यटकमा बारागुङ मुक्तिक्षेत्र–१, मुक्तिनाथमा पाँच जना, घरपझोङ–४, जोमसोममा चार जना र थासाङ गाउँपालिकामा दुई जना रहेका छन् । मृतकले ज्यान गुमाएको सबै गाउँपालिका मुस्ताङको तल्लो क्षेत्रमा पर्छ । एक वर्षको अवधिमा लेक लागेर बिरामी भएका र सिकिस्तलाई समयमै उपचार गरी घर फर्काइएकाको सङ्ख्या ४० भन्दा बढी छ ।
सामान्य बिरामीलाई प्राथमिक उपचार र जटिल समस्या भएकालाई प्रादेशिक अस्पताल जोमसोममा उपचार गरी घर पठाइएको छ । लेक लागेर मृत्यु हुनेमा ४० वर्षकी म्याग्दीकी एक महिलाबाहेक सबै ५८ देखि ८३ वर्ष उमेरका छन् । ज्येष्ठ नागरिक, दीर्घरोगी तथा सिजनल रोगबाट ग्रसित भएको अवस्थामा प्रतिकूल हावापानीमा यात्रा गर्दा पर्यटकलाई लेक लाग्ने गरेको छ । मुस्ताङमा आव २०७८/७९ मा छ जना, २०७९/८० मा १२ जना र २०८०/८१ मा १४ जना स्वदेशी तथा विदेशी पर्यटकको लेक लागेर ज्यान गएको छ ।
जिल्ला प्रशासन कार्यालयले मुस्ताङको सिमानादेखि उपल्लो मुस्ताङसम्म स्थानीय तह, जिल्ला प्रहरी कार्यालय, एक्याप, स्वास्थ्य सङ्घ संस्थामार्फतसचेतनामूलक अभियान र जाँच गरी पर्यटकलाई हावापानी र अवस्थाका बारेमा बुझ्ने गरेको छ । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले छिमेकी जिल्ला म्याग्दीले उत्तरी क्षेत्रमा जाँच पोस्टमार्फत पर्यटकको अवस्थाका बारेमा जानकारी गराउने र जटिल समस्या भएकाको भ्रमणको सूचीमा रहेका स्थानको पहिचान गर्ने गरी छलफल भएको बताए ।
प्रजिअ भुसालले भने, “मुस्ताङमा आउने पर्यटकको मुख्य चुनौती नै लेक लाग्ने समस्या हो, पर्यटकले आफैँ सतर्कता अपनाए पनि ज्यान जोगाउन सकिन्छ ।” प्रजिअ भुसालले पर्यटकलाई सचेतनामूलक अभियानसहित स्वास्थ्य उपकरण, एम्बुलेन्स थप गर्नुपर्ने र सबै पाँच वटै पालिकामा पर्यटकको स्वास्थ्य परीक्षण केन्द्र बढाउनुपर्ने विषयमा छलफल भइरहेको बताए ।
समुद्री सतहदेखि दुई हजार पाँच सय मिटर वा सोभन्दा माथिको उचाइमा पुग्दा शरीरमा अक्सिजनको मात्रा कम हुनुलाई लेक लागेको भनिन्छ । लेक लागेका पर्यटकलाई टाउको हल्का दुख्नु, थकाइ र रिँगटा लाग्ने, हिँड्न गाह्रो हुने, श्वास फेर्न गाह्रो हुने, वाकवाकी लाग्ने गर्छ ।
पखाला लागेमा तत्काल उच्च क्षेत्रमा जान रोक्नुपर्ने र आराम गर्ने, पानी वा झोलिलो खानेकुरा खानुपर्ने र शरीरमा असहज महुसस भए तत्कालै आफू भएको भन्दा तल्लो क्षेत्रमा फर्किएर स्वास्थ्य संस्थामा जानुपर्ने चिकित्सकको सुझाव छ ।
समयमै लेक लागेकाले सतर्क भएर यसबाट बच्ने उपाय र उपचार गरेमा निको हुन्छ । पर्यटकले हेलचेक्य्राइँ गरी लेक लागेको क्षेत्रमै बसेमा वा माथि उचाइमा जाने प्रयास गरेमा मस्तिष्क वा फोक्सो सुन्निने खतरा हुन्छ । –गोरखापत्र



पत्रपत्रिका |
