‘सिंघम’ शैलीमा एसएसपी अधिकारी


काठमाडौं- दूर–दराजमा प्रहरीको बर्दीमा खटिएको एक सिपाहीले राज्यको प्रतिनिधित्व गर्छ । कानुनी राज्य भएको जनाउ दिँदै आम जनतालाई सुरक्षाको अनुभूति गराउँछ । पहिलो घेरामा बसेर कानुनको चुस्तदुरुस्त रूपमा परिपालना गराउँदै, अपराध रोकथाम गर्दै, कानुनको बर्खिलापमा उभिएकालाई कठघरासम्म पु¥याउन महत्वपूर्ण भूमिकामा आफूलाई नेपाल प्रहरीले उभ्याउँदै आएको छ ।

७० हजारको फौजमा केही यस्ता प्रहरी अधिकृत छन्, जसले नेपाल प्रहरीलाई बदनाम पनि गराएका छन् भने शिर उचो गराउँदै संगठनको शान जोगाएका पनि छन् । प्रहरीमा सेवा प्रवेशदेखि नै जागिरको प्रवाह नगरी ‘सिंघम’ शैलीमा देश र जनताको पक्षमा काम गर्ने काबिल प्रहरी अफिसर भने नगण्य छन् । राजनीतिक दलका हुन् या ठूला व्यापारिक घराना, ठूला बिचौलिया हुन् या विदेशी एजेन्ट। कुनै पनि किसिमका अपराधमा जोडिएका आपराधिक गिरोहलाई हिरासतमा लिँदै जेलको यात्रा गराउन हिम्मत राख्ने प्रहरी अधिकृत भने नेपाल प्रहरीभित्र औंलामा गन्न सकिन्छ ।

यस्तै एक ‘सिंघम’ प्रहरी अधिकृत हुन् हाल काठमाडौं प्रहरी परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारी । नेपाल प्रहरीभित्र काबिल प्रहरी अधिकृतका रूपमा चिनिएका अधिकारी आफ्नो ब्याचका पनि एक नम्बरका अधिकृत हुन् ।

काठमाडौं परिसरको कमाण्ड सम्हालेदेखि एसएसपी अधिकारी काठमाडौंमा हुने अपराधको सशक्त अनुसन्धान गर्दै र हरेक किसिमका अपराधको न्यूनिकरण गर्दै अपराध रोकथाममा आक्रामक रूपमा प्रस्तुत भएका छन् । राजनीतिक दलका नेतादेखि राज्यसत्ता हल्लाउन सक्नेलाई कानुनको कठघरामा उभ्याउँदै, अनलाइनबाट भइरहेका ठगी नियन्त्रणमा समेत लागेका छन् । भोलिका दिनमा व्यक्तिगत रूपमा आफूलाई पर्न सक्ने बढुवाको समेत कुनै प्रवाह नगरी एसएसपी अधिकारी अपराध र अपराधीमाथि धावा बोलेका छन् ।

‘राजनीतिक दलका नेता हुन् वा बिचौलिया हुन् वा अपराधसँग जोडिएका जो–कोही हुन्, मेरो ब्रम्हले देखेसम्म कानुनको कठघरामा उभ्याउँछु । भोलि कहाँ पुगिन्छ र के हुन्छ भन्दै हिसाब–किताब गरेर जागिर खाइँदैन’, एसएसपी अधिकारीले भने ।

यस्तै हिसाब–किताब नगरिकन काम गर्ने अधिकारीहरूमा एआईजी मनोज केसी (राजनीतिक पहुँच भएका बालकृष्ण खाँणलाई पक्राउ गरेका), उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख रमेश बस्नेत (जसले पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरेका थिए) पर्छन् ।

नेपाल प्रहरीकै शिर उचो राख्ने पूर्व प्रहरीहरूमध्ये पछिल्लो समय पूर्व आइजीपी उपेन्द्रकान्त अर्यालदेखि सर्वेन्द्र खनालसम्मको नाम चर्चा गर्ने लायक छ ।

यस्तै चर्चा गर्ने पात्रका रूपमा जिल्ला प्रहरी परिसरका हाल काठमाडौं प्रहरी परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीको नाम पनि अगाडि आउँछ ।

गत वर्षको माघमा कार्यभार सम्हालेका उनले आफ्नो करिब ६ महिनाको अवधिमा सम्झन लायक काम गरेका छन् । अपराध नियन्त्रणदेखि अपराधी समात्ने मात्रै होइन, प्रहरी कर्मचारीको हौसला बढाउनेदेखि उनीहरूलाई उत्प्रेरित गर्ने ‘प्रहरी कर्मचारीको मनोबल अभिवृद्धि तथा तनाव व्यवस्थापनका लागि उत्प्रेरणात्मक कार्यक्रम’ जस्ता विभिन्न तालिमसमेत प्रदान गर्न उनले वातावरण बनाएका छन् । उनले “ईमानदारीको अभिवृद्धि – सञ्जालगत कार्यान्वयन’’ को नारा बोकेर कार्यसम्पादन गरिरहेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)देखि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गर्नुपर्ने काम पनि प्रहरी परिसर काठमाडौंले गर्दै आएको छ ।

यहि साउन ५ गते सोमबार सेयर कारोबारी दिपेन्द्र अग्रवाल पक्राउ परे। जिल्ला प्रहरी परिसर काठमाडौंले टोखा क्षेत्रबाट अग्रवाललाई पक्राउ गरेको थियो। अग्रवालविरूद्ध ठगी तथा आपराधिक विश्वासघात कसुरमा जाहेरी परेको थियो। २२ करोड ठगी अरोपमा अग्रवाल पक्राउ गरेको प्रहरीले जनाएको छ । अग्रवालले सेयर कारोबार मार्फत लगानीकर्ता तथा धितोपत्र दलाल कम्पनीलाई ठगी गर्दै आएका थिए ।

उनी आफूले सेयर खरिद गरिसकेपछि समाजिक सञ्जाल मार्फत लगानीकर्तालाई खरिद गर्न लगाउने र मूल्य नै तोकेर यति पु¥याउने भन्दै झुट्टा अस्वासन दिने गर्थे । सेयर लगानीकर्ताले खरिद गर्न थालेपछि भने अग्रवाल आफ्नो सेयर बिक्री गर्थे । अग्रवालविरुद्ध जिल्ला अदालतबाट ३ दिन म्याद लिएर थप अनुसन्धान भइरहेको छ।

साउन ४ गते आइतबार मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज)लाई पनि काठमाडौं प्रहरी परिसरको विशेष टोलीले काठमाडौंबाट पक्राउ गरेको थियो। बालिका बलात्कारको उजुरीका आधारमा काठमाडौं प्रहरीले पक्राउ गरेर उनीमाथि अनुसन्धान थालेको छ। जिल्ला अदालत काठमाडौंबाट गत जेठमा पक्राउ अनुमति लिएर उनीमाथि अनुसन्धान थालिएको थियो । उनमाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थप गरिएको छ ।

असार ३२ गते जिल्ला प्रहरी परिसर काठमाडौंले ठगीमा संलग्न आरोपमा एक जनालाई कागेश्वरी मनोहराबाट पक्राउ गर्यो । पक्राउ पर्नेमा काठमाडौँको गोलढुंगा घर भएर कागेश्वरी मनोहरामा बस्दै आएका केदार अर्याल रहेका थिए । उनलाई ५ ओटा मुद्दामा अदालतले ११ महिना कैद सजाय हुने फैसला गरेको थियो । फैसला भएका मुद्दामा अर्यालसँग १ करोड ४५ लाख ८६ हजार असुल हुनुपर्ने देखिएको छ ।

४६ वर्षीय अर्यालले पछिल्लो समय रमेश कुमार कार्की नाम गरेका व्यक्तिलाई ठगी गरेका थिए । कार्कीले आफूलाई १ करोड २५ लाख रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए ।

असार २७ गते परिसरले बैंकिङ कसुर मुद्दामा ९० लाख रुपैयाँ बिगो कायम भएका एक व्यक्ति पक्राउ परेको सूचना जारी गरेको थियो । पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका २४ घर भएका वर्ष अन्दाजी २८ को धर्मेन्द्र कुमार पटेल थिए ।

असार २३ गते काठमाडौँको बौद्धबाट १ करोड ४४ लाख रुपैयाँसहित चिनियाँ नागरिकलाई पनि परिसरको टिमले पक्राउ गरेको थियो । काठमाडौँ महानगरपालिका ६ बौद्धको नयाँबस्तीमा कोठा भाडामा लिई बसेका ४० वर्षका चिनियाँ नागरिक वाङ जियान पक्राउ परेका थिए । उनी बोधिचित्तको माला कारोबारी भएको खुलेको थियो ।

त्यस्तै असार १६ गते महिलाको अश्लिल भिडिओ बनाउँदै बेच्ने एक पुरुषलाई परिसरले समातेको थियो । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ घर भएका २९ वर्षीय रमेश थापा टोखाबाट पक्राउ परेका थिए ।

उनले नेपाल र विदेशमा समेत रहेका महिला तथा पुरुषहरु सँग रकम दिँदै भिडिओ कलमार्फत अश्लिल क्रियाकलापमा सहभागी गराउने गरेको पाइएको थियो । उनले अश्लिल भिडिओ बनाउँदै बेच्ने गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले बताएको थियो ।

यस्तै असार १३ गते पुरानो बसपार्कमा ‘काठमाडौँ भ्यू टावर’ निर्माणको काम गरिरहेका व्यवसायी मनोज भेटवाल पक्राउ परेका थिए । इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालक भेटवाल विरुद्ध अहिले जिल्ला प्रहरी परिसर काठमाडौँमा १० करोडको बैङ्किङ कसुरको जाहेरी दर्ता भएको थियो । भेटवाल पहिले पनि चेक बाउन्स र रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेड घोटाला मुद्दामा पक्राउ परेका थिए ।

असार १ गते फेसबुकमा ‘अलविदा’ लेखेर सम्पर्कविहीन भएका डा. केशव श्रेष्ठलाई काठमाडौं प्रहरी परिसरबाट खटिएको टोलीले सकुशल उद्धार गरेको थियो।

गत माघ २७ गते काठमाडौंको बूढानीलकण्ठमा घर भाडामा लिएर अनलाइन बेटिङ गर्नेहरुलाई पनि काठमाडौं प्रहरी परिसरले समातेको थियो । २३ जना पक्राउ परेपछि उनीहरुले लोटस ३६५ नामक अनलाइनमार्फत् अर्बौंको कारोबार गरेको भेटिएको थियो । उनीहरूले ३ अर्ब १३ करोड भन्दा बढी रकम कारोबार गरेको भेटिएको थियो ।

गत चैत १५ गते काठमाडौंमा राजसंस्थाको पक्षमा भएको प्रदर्शनले हिंसात्मक रूप लिएको थियो । प्रदर्शनका कारण राजधानीका केही स्थानहरूमा तनाव उत्पन्न भएको थियो । प्रदर्शनका क्रममा, राजसंस्था पुनस्र्थापनाका पक्षमा उठेका आवाज र ज्यान गुमाएका दुई युवाको दुखद घटनाले आन्दोलनलाई हिंसात्मक बनायो ।

त्यस क्रममा काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले उच्च कमाण्डको आदेश अनुसार संयमता अपनाए र प्रदर्शनकारीमाथि अत्यधिक दमन नगर्न निर्णय गरेका थिए । उनका निर्णयका कारण आन्दोलनकारीहरूले प्रहरीको घेरा तोड्न र निषेधित क्षेत्र प्रवेश गर्न सकेनन्, जसले दुर्गा प्रसाईंको प्रतिनिधिसभा भवन कब्जा गर्ने योजनालाई विफल बनायो ।

त्यस्तै गत फागुन १८ गते काठमाडौंको नयाँ बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । झडपका क्रममा प्रहरी वृत्त सिंहदरबारका इन्चार्ज डिएसपी गंगा पौडेलको टाउकोमा चोट लागेको थियो । त्यसपछि आन्दोलनकारीलाई अझ अराजक बन्नबाट रोक्न एसएसपी अधिकारी आफैं फिल्डमा खटिएका थिए । उनको त्यो कदमले त्यहाँ भिड नियन्त्रित भएर थप हिंसात्मक घटना टरेको थियो ।

प्रतिक्रिया