सबै समुदायको समर्थन पाए कांग्रेस बहुमतको पार्टी बन्न सक्छ : सभापति देउवा


काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई बहुमत प्राप्त पार्टी बनाउने लक्ष्यका साथ अगाडि बढ्न सबै जातजाति र समुदायको समर्थन आवश्यक रहेको बताएका छन्।

सोमबार नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागद्वारा आयोजित कार्यक्रममा देउवाले पार्टीको सिद्धान्त र आदर्शलाई जनतामाझ पुर्‍याउन पुस्तकालयको भूमिका महत्वपूर्ण हुने धारणा राखे।

“नेपालमा कांग्रेस ठुलो पार्टीको रूपमा रहँदै आएको छ,” उनले भने, “अझ बहुमत प्राप्त गर्ने पार्टी पनि हुन सक्छ। अहिलेको समानुपातिक समावेशितामा आधारित निर्वाचन प्रणालीमा सबै जातजाति, समुदायको समर्थन प्राप्त गर्न सक्यौं भने त्यो सम्भव छ।”

देउवाले पार्टीको प्रजातान्त्रिक समाजवाद अन्य दलहरूको विचारभन्दा भिन्न र जनमुखी रहेको दाबी गरे। उनले भने, “प्रतिस्पर्धी दलभन्दा राम्रो सिद्धान्त कांग्रेसको छ। त्यसबारे जनतालाई राम्रोसँग बुझाउन सके पार्टीले बहुमत प्राप्त गर्न सक्छ।”

कार्यक्रममा कांग्रेस पुस्तकालय तथा अध्ययन स्रोत केन्द्र विभागले पुस्तकालय स्थापना र सञ्चालनमा सहयोग गर्ने दाताहरूलाई सम्मान पत्र प्रदान गरिएको थियो।

सभापति देउवाले कार्यक्रममा पुस्तकालयमा रहेका पुस्तकहरूलाई बहुमूल्य सम्पत्ति ठहर गर्दै पार्टीका आदर्श, नीति र विचार अध्ययन गर्न र प्रचार गर्न सबै नेता–कार्यकर्तालाई आग्रह गरे।

उनले संविधान र निर्वाचन प्रणाली नै समावेशी भएको उल्लेख गर्दै कांग्रेस पनि सबै नागरिकको प्रतिनिधित्व गर्ने पार्टीका रूपमा अगाडि बढ्नुपर्नेमा जोड दिए।

“हामी सबैको पार्टी हो,” देउवाले भने, “सबैलाई समेटेर अघि बढे कांग्रेस बहुमत प्राप्त गर्ने मात्र होइन, देशको नेतृत्व गर्ने एकमात्र विकल्प बन्न सक्छ।”

प्रतिक्रिया