कैलालीमा गोदावरी नदीको टापुमा फसेका ६ जनाको सकुशल उद्दार


कैलाली- कैलालीमा गोदावरी नदीको टापुमा फसेका ६ जनाको सकुशल उद्दार गरिएको छ। गोदावरी नगरपालिका–४ स्थित गोदावरी नदीमा एक्कासि आएको बाढीका कारण उनीहरू टापुमा फसेका थिए।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दका अनुसार उद्दार गरिएकाहरूमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ का ६५ वर्षीय पल्लु सार्की, ६५ वर्षीया भागेश्वरी सार्की, ३५ वर्षीय विकट सार्की, १२ वर्षीय योगेश सार्की, ३५ वर्षीय बिर सार्की र वेदकोट नगरपालिका–७ का २८ वर्षीय अब्दुल सार्की छन्।

उनीहरू श्राद्ध गर्न गोदावरी नदी पुगेका बेला अचानक बाढी आएपछि टापुमा फसेका थिए। बाढीको सूचना पाएपछि कैलालीका प्रमुख जिल्ला अधिकारी इन्जिनियर गोगन बहादुर हमालको नेतृत्वमा उद्दार टोली घटनास्थल पुगेको थियो।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले उनीहरूको उद्दार गरेको हो। सोही क्रममा गोदावरी नगरपालिकाका मेयर विरेन्द्र भट्ट पनि घटनास्थलमा पुगेका थिए।

अहिलेको वर्षा र बाढीका कारण सम्भावित प्राकृतिक विपद्लाई ध्यानमा राख्दै स्थानीय प्रशासनले सुरक्षित बस्न सबैलाई आग्रह गरेको छ।

 

प्रतिक्रिया