आईपीएलः पञ्जाबविरुद्ध राजस्थानको जीत, आज मुम्बई र दिल्ली भिड्दै
युएई — आईपीएलको १३ औं संस्करणको आफ्नो १३ औं खेलमा राजस्थान रोयल्सले किङ्स इलाभेन पन्जाबलाई पराजित गरेको छ । शुक्रबार राति सम्पन्न खेलमा पन्जाबविरुद्ध ७ विकेटको जित हात पार्दै राजस्थानले प्लेअफको सम्भावना कायमै राखेको छ ।
शेख जायद क्रिकेट स्टेडियममा पन्जाबले दिएको १ सय ८५ रनको लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो।
राजस्थानको जितमा बेन स्टोक्सले ५० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै सन्जु सामसनले ४८ रन जोड्दा रोबिन उथप्पाले ३० रन बनाए । कप्तान स्टिभ स्मिथ ३१ रनमा अविजित रहदा जोस बट्लर २२ रनमा अविजित रहे ।
पन्जाबका मुरुगान आश्विन र क्रिस जोर्डनले १/१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो ।
पन्जाबका लागि क्रिस गेलले ९९ रनको अर्धशतकीय इनिङ्स खेले । शतक बनाउन एक रनले चुकेका गेलले ६३ बलमा ८ छक्का र ६ चौका प्रहार गरे पनि पञ्जावको हार टरेन ।
यस्तै कप्तान केएल राहुलले ४६ रन जोड्दा निकोलस पुरनले २२ रन बनाए । ग्लेन म्याक्स्वेलले अविजित ६ रन जोड्दा मन्दिप सिंह शुन्य रनमा आउट भए ।
पन्जाबलाई हराएसँगै राजस्थान तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । जितसँगै राजस्थानले प्ले अफ सम्भावना कायम राखेको छ । राजस्थानले १३ खेलमा १२ अंक जोडेको छ ।
पन्जाबले पनि १३ खेलमा १२ अंक नै जोडेको छ । पन्जाब तालिकाको चौंथो स्थानमा यथावत रहेको छ । यसअघि नै मुम्बई इन्डियन्स प्लेअफमा पुगिसकेको छ । शनिबार प्लेअफमा पुगिसकेको मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबीच खेल हुँदैछ ।