राजनीतिमा फर्केपछि विद्याको सक्रियता, बालेनसँगको संवादले एमालेमा हलचल


काठमाडौं- राजनीतिमा पुनः प्रवेशको घोषणा गरेकी पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले  राजनीतिमा हलचल ल्याउने गरी पछिल्ला दिनमा भेटघाट तीव्र बनाएकी छन्। यसैक्रममा उनले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग आफ्नै निजी निवास भंगालमा भेटवार्ता गरेकी छन्।

बिहीबार भएको उक्त भेटमा एमालेका एक सांसदको समन्वयमा मेयर बालेन सहभागी भएका थिए। भण्डारी र बालेनबीच झण्डै एक घण्टा छलफल भएको स्रोतले जनाएको छ। पूर्वराष्ट्रपतिले राजधानीमा पछिल्लो समय देखिएको राजनीतिक तथा प्रशासनिक गतिरोधप्रति चासो व्यक्त गर्दै विशेषतः आगामी आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रमसम्बन्धी अवरोधबारे मेयरसँग विस्तृत कुराकानी गरेकी हुन्।

काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत र कार्यपालिका सदस्यहरूबीच सहमति नहुँदा लगातार कार्यपालिका बैठक बस्न सकेको छैन। यसले गर्दा महानगरको आगामी आर्थिक वर्षको बजेटसमेत पारित हुन नसकेको अवस्था छ। बालेनले यसै विषयमा आफ्नो दृष्टिकोण स्पष्ट रूपमा राखेका थिए।

पूर्वराष्ट्रपति भण्डारीको यो भेटलाई केवल काठमाडौँ महानगरको समस्या समाधानतर्फको चासो मात्र नभई, एमालेभित्रको शक्ति सन्तुलनसँग पनि जोडेर हेरिएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको एकाधिकारवादी शैलीप्रति असन्तुष्ट नेताहरू विद्यासँग सम्पर्कमा रहेको चर्चा चर्किएको छ।

उनीसँग भेट गर्नुभन्दा केही दिनअघि उनले एमालेको सदस्यता नवीकरण गर्दै सरकारबाट प्राप्त पूर्वराष्ट्रपतिको सेवा सुविधा फिर्ता गरिसकेकी थिइन्। एमाले महाधिवेशन नजिकिँदै गर्दा विद्याले अध्यक्ष पदका लागि दाबी गर्न सक्ने सम्भावनासमेत राजनीतिक वृत्तमा उठ्न थालेको छ।

एमालेभित्र गुटगत असन्तुलन बढिरहेका बेला पूर्वराष्ट्रपतिले बालेनजस्तो स्वतन्त्र र प्रभावशाली व्यक्तिसँग भेटवार्ता गर्नु राजनीतिक सन्देश बोकेको देखिन्छ।

प्रतिक्रिया