धनुषामा सशस्त्र प्रहरीमाथि तस्करले गरे आक्रमण, ६ प्रहरी घाइते


धनुषा — धनुषास्थित नेपाल भारत सीमा क्षेत्र नजिकै सशस्त्र प्रहरी र तस्करबीच भिडन्त हुँदा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन् ।

धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीस्थित नेपाल–भारत सीमा नजिक भिडन्त भएको हो । तस्करहरुको समूहले गस्तीमा रहेको सशस्त्रमाथि आक्रमण गर्न थालेपछि प्रहरीले स्थिति नियन्त्रणका लागि चार राउन्ड हवाई फायर र १३ सेल अश्रुग्यास प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ ।

धनुषाका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) निर्मल खड्काका अनुसार बिहीबार साँझ ७ बजेतिर तस्करीको समान भित्राएर आँप बगैँचामा राखेको भन्ने सूचना पाएपछि सशस्त्र प्रहरीको ३० जनाको पुगेको थियो ।

सशस्त्र प्रहरी पुगेलगत्तै तस्करहरुको समूहले घरेलु हतियार, भाटा र ढुंगामुढासहित प्रहरीमाथि आक्रमण गरेका थिए ।

सो क्रममा जवाफी कारबाही गर्ने क्रममा सशस्त्र प्रहरीले १३ राउण्ड अश्रुग्यास र चार राउण्ड हवाई फायर गर्नुपरेको एसपी खड्काले बताए ।

प्रतिक्रिया