त्रिवि क्रिकेट मैदानको निर्माण अझै अधुरै, चालु आर्थिक वर्षभित्र नसकिने


काठमाडौं- कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानको स्तरोन्नति कार्य चालु आर्थिक वर्षभित्र सम्पन्न नहुने भएको छ। सहरी विकास मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा आयोजना निर्धारित समयमै सम्पन्न हुन नसक्ने औपचारिक जानकारी दिएको हो।

२०८१ फागुन २१ गतेदेखि सुरु गरिएको मैदान स्तरोन्नतिको काम यसअघि वैशाख २४ भित्र सक्ने लक्ष्य राखिएको थियो। तर उक्त समयभित्र काम सम्पन्न नहुँदा प्रधानमन्त्री केपी शर्मा ओलीले असार मसान्तसम्म सक्न निर्देशन दिएका थिए। तर त्यस अवधिमा पनि कार्य सम्पन्न हुन नसक्ने मन्त्रालयले स्पष्ट पारेको छ।

आयोजना प्रमुख चक्रवर्ती कण्ठका अनुसार हालसम्म प्याराफिटको ७० प्रतिशत र फ्लडलाइटको २० प्रतिशत मात्रै काम सम्पन्न भएको छ। उनका अनुसार प्राविधिक जटिलता र प्राकृतिक कारणले गर्दा कार्य निर्धारित समयमै सम्पन्न हुन सकेन।

“अब बाँकी काम आउँदो आर्थिक वर्षमा मात्र सम्पन्न हुनेछ,” कण्ठले भने। यससँगै मैदानको स्तरोन्नति कार्यका लागि दोस्रो पटक म्याद थप गर्न लागिएको हो।

त्रिवि मैदान अन्तर्राष्ट्रियस्तरको बनाउने लक्ष्यसहित सुरु गरिएको यो परियोजना बारम्बार ढिलाइमा परिरहेको छ। मैदानको स्तरोन्नति पूरा भएपछि नेपालले टेस्ट खेल खेल्न मिल्ने सुविधासम्पन्न भेन्यु पाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया