
समीक्षा र एलिनाले गृहमन्त्रीसँग गुनासो पाेखे
काठमाडौं- सामाजिक सञ्जालमार्फत दुर्व्यवहार र दुर्वचनको सिकार बनिरहेका लोकप्रिय गायिकाहरू समीक्षा अधिकारी र एलिना चौहानले गृहमन्त्री रमेश लेखकलाई भेटेर न्यायको माग गरेका छन्।
मंगलबार गृह मन्त्रालय पुगेर उनीहरूले गृहमन्त्रीसँग हालै आफूहरूले सामाजिक सञ्जालमा भोगिरहेको मानसिक हिंसाबारे विस्तृत जानकारी गराएका हुन्। सामाजिक सञ्जालमा चरित्र हत्या, गालीगलौज र अनावश्यक टिप्पणीको सिकार बनिरहेका उनीहरूले दोषीमाथि कारबाहीको माग राखेका हुन्।
गायिका एलिना चौहानले भेटपछि सामाजिक सञ्जालमा पोस्ट गर्दै भनिन्, “जब कुरा व्यक्तिगत जीवनमा आँच पुर्याउने तहमा पुग्छ, गालीगलौज र चरित्र हत्या जस्ता कुरा सहन सकिँदैन। त्यसैले आत्मसम्मानको रक्षा गर्न कानुनी प्रक्रिया अघि बढाएकी छु।”
उनका अनुसार सोमबार मात्र साइबर ब्युरोमा चार जना ‘हिंस्रक’ विरुद्ध उजुरी दिइएको छ। चौहानले आफ्नो उजुरीअनुसार तत्काल कारबाही हुनुपर्ने माग पनि गरेकी छन्।
गायिकाहरूले गृहमन्त्रीसँग भेटघाट गरी सामाजिक सञ्जालमा हुने डिजिटल हिंसाका घटनालाई लिएर कानुनी कारबाहीको माग गरेकी हुन्। गृहमन्त्रीले आवश्यक सहयोग गर्ने आश्वासन दिएको बताइएको छ।



कागजपत्र |
