खामेनेईको चेतावनी – इरानमाथि हमला दोहोरिए झन् महँगो पर्छ


तेहरान— इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईले अमेरिकी आक्रमणलाई ‘शक्ति प्रदर्शनको नाटक’ भन्दै कडा चेतावनी दिएका छन्। एक सातासम्म सार्वजनिक रूपमा नदेखिएका खामेनेईले टेलिभिजनमार्फत देशवासीलाई सम्बोधन गर्दै इरानमाथि भएको अमेरिकी आक्रमणलाई इजरायलको संरक्षणको प्रयासको रूपमा चित्रण गरे।

खामेनेईले भने, “अमेरिका प्रत्यक्ष युद्धमा होमिनुको कारण यो हो कि उसले नसोचेको खतरा देख्यो—यदि अमेरिका अगाडि आएन भने इजरायल पूरै ध्वस्त हुनेछ।”

उनले स्पष्ट रूपमा इरान कहिल्यै आत्मसमर्पण नगर्ने भन्दै पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइप्रति आक्रोश व्यक्त गरे। “ट्रम्पले इरान आत्मसमर्पण गर्छ भनेका थिए, तर हाम्रो राष्ट्रका लागि त्यो शब्द अपमानजनक हो,” खामेनेईले भने।

अमेरिकी आक्रमण ‘नाटक’, इरानको सैन्य जवाफी कारबाही ‘गर्वको विषय’

खामेनेईले अमेरिकाको हालको हवाई आक्रमणलाई ‘शोम्यानसिप’ को संज्ञा दिँदै भने, “उनीहरूले मिसाइल र आणविक कार्यक्रमलाई बहाना बनाए, तर वास्तवमा उनीहरूको लक्ष्य इरानलाई घुँडा टेकाउने थियो।”

उनले इरानी सशस्त्र बलले अमेरिकी सैन्य बेस र इजरायली सुरक्षा प्रणालीमा भित्रै प्रवेश गरेर हमला गर्न सक्नु गौरवको कुरा भएको उल्लेख गरे। “हामीले अमेरिकी सैन्य उपस्थितिको मूल आधारमै हमला गर्‍यौं, जुन फेरि पनि दोहोरिन सक्छ,” उनले चेतावनी दिए।

खामेनेईले आफ्ना सम्बोधनमा इरानी जनताको एकता र सशस्त्र बलप्रतिको ऐक्यबद्धताको विशेष प्रशंसा गरे। “९० लाख जनसंख्याको यो राष्ट्र संकटमा एक स्वरमा उभियो, यो इरानको शक्ति र आत्मबलको प्रमाण हो,” उनले भने।

खामेनेईले सम्बोधनको अन्त्यमा भने, “यो युद्धमा इरान विजयी भयो, र अमेरिकाको गालामा एक कडा चड्कन हान्यो।”

 

प्रतिक्रिया