
थाइल्याण्डका नेपाली स्वास्थ्यकर्मीसँग स्वास्थ्यमन्त्रीको अन्तरक्रिया
काठमाडाैं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले थाइल्याण्डमा क्रियाशील स्वास्थ्य नीति निर्माता, बौद्धिक तथा अध्ययनरत मेडिकल विद्यार्थीसँग नेपालको स्वास्थ्य क्षेत्रमा थाइल्याण्डको अनुभवबाट गर्न सकिने सुधारबारे अन्तरक्रिया थालेका छन्।
जनसङ्ख्या नीति सम्बद्ध संयुक्त राष्ट्रसङ्घीय मन्त्रिस्तरीय बैठकमा सहभागिताका लागि बैंकक आइपुगेका मन्त्री पौडेलले त्यहाँका नेपालीसँग विचार विमर्श थालेका हुन् ।
नेपाली राजदूतावासको आयोजनामा बैंककमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले थाइल्याण्डको स्वास्थ्य उपचार प्रणाली, मेडिकल शिक्षा तथा स्वास्थ्य बीमाका बारेमा थाइल्याण्डको अनुभवबारे नेपाली समुदायसँग सुझाव सङ्कलन गरेका हुन्।
मन्त्री पौडेलले अहिले मन्त्रालयले स्वास्थ्य उपचार सेवासुधार तथा विस्तारसँगै स्वास्थ्य बीमामा नीतिगत सुधारसम्बन्धी निर्णय गरेर कार्यान्वयनतर्फ अघि बढिरहेको भन्दै दुवै देशको परिस्थितिबारे जानकार नेपालीहरुबाट प्राप्त अनुभव आगामी दिनमा थप उपयोगी हुने विश्वास गरे। ‘हामी अहिलेकै स्रोतमा सुधार गरेर नागरिकलाई बढी सेवा दिन प्रयत्नशील छौँ’, मन्त्री पौडेलले भने, ‘‘तपाईँहरूको अनुभव हाम्रा लागि उपयोगी बन्न सक्छ ।’’
अन्तरक्रियामा सहभागी स्वास्थ्य सेवाप्रदायक एप निर्माणमा संलग्न नेपालीले सेवा स्वदेशमा विस्तारमा तयार रहेको बताए । साथै, सहभागी स्वास्थ्य बिमाका जानकारहरुले थाइल्याण्डको अभ्यासबारे जानकारी गराएका थिए ।



कागजपत्र |
