
‘विपद् न्यूनीकरणका लागि काठमाडौं, पोखरा र सुर्खेतमा सेनाका हेलिकोप्टर तयारी अवस्थामा छ’
काठमाडौं — गृहमन्त्री रमेश लेखकले मुलुकका तीन प्रमुख शहर—काठमाडौं, पोखरा र सुर्खेतमा विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि नेपाली सेनाका हेलिकोप्टर तयारी अवस्थामा राखिएको जानकारी गराएका छन्।
मंगलबार काठमाडौंमा आयोजित ‘विपद् व्यवस्थापनमा पत्रकारको भूमिका’ विषयक प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै गृहमन्त्री लेखकले अन्य स्थानहरूमा पनि आवश्यकताको आधारमा हेलिकोप्टर तयारी अवस्थामा राख्न सरकार सक्रिय रहेको बताए।
उनले भने, “हेलिकोप्टर एसोसिएसनसँग पनि समन्वय गरेर अतिरिक्त हेलिकोप्टर तयारीमा राख्ने प्रयास भइरहेको छ। सीमित स्रोत साधनका बीचमा पनि सरकार विपद् न्यूनीकरण र प्रतिकार्यका लागि पूर्ण रूपमा प्रतिबद्ध छ।”
मन्त्री लेखकले प्रदेश सरकार, स्थानीय तह, गैरसरकारी संस्था, यातायात व्यवसायी लगायत सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको औँल्याउँदै विपद् व्यवस्थापनमा सामूहिक प्रयास अपरिहार्य रहेको बताए।
उनले सातै प्रदेशमा रहेका आपतकालीन राहत गोदामहरू अब प्रदेश सरकारलाई हस्तान्तरण गरिसकिएको जानकारी पनि दिए।



कागजपत्र |
