
बजेटमा अन्याय भएकाे भन्दै माओवादी सांसदले च्याते बजेट पुस्तिका
पोखरा- गण्डकी प्रदेशसभा बैठकमा नेकपा (माओवादी केन्द्र)का सांसद रेशमबहादुर जुग्जालीले म्याग्दी जिल्लामा बजेट बाडफाँडमा अन्याय भएको भन्दै विरोधस्वरूप बजेट पुस्तिका च्यातेका छन्।
सोमबार प्रदेशसभाको बैठकमा तीन मन्त्रालयको बजेटमाथिको छलफलका क्रममा सांसद जुग्जालीले म्याग्दी जिल्लाको योजनामा माओवादीको उपेक्षा गरिएको आरोप लगाए। उनका अनुसार साढे तीन करोड रुपैयाँको नयाँ योजना पारित भए पनि ती योजनाहरूमा नेपाली कांग्रेस र नेकपा (एमाले)का प्रस्ताव मात्र परेका छन्।
जुग्जालीले म्याग्दीका दुबै प्रदेशसभा क्षेत्रबाट माओवादीका उम्मेदवार विजयी भएका भए पनि पछिल्ला दुई वर्षदेखि म्याग्दीलाई निरन्तर बजेटमा उपेक्षा गरिएको दाबी गरे। उनले आफ्नै खर्चमा भौतिक पूर्वाधारमन्त्री र अर्थमन्त्रीलाई म्याग्दी भ्रमण गर्न आग्रह गर्दै योजनाको न्यायिक पुनरावलोकन गर्न माग गरे।
“यदि योभन्दा अझै बजेट नपुगेको हो भने मेरो र सांसद हरि भण्डारीज्यूको दुई करोड रुपैयाँ पनि फिर्ता लैजानुस्,” जुग्जालीले भने। “म्याग्दीको अस्तित्वलाई अर्थ नदिएको हुँदा, सभामुखको अनुमतिमा यो बजेट पुस्तिका च्यात्न चाहन्छु।”
उनको अभिव्यक्तिपछि सदनमा केही समय तनाबपूर्ण वातावरण बनेको थियो।



कागजपत्र |
