
भिजिट भिसा प्रकरणमा निष्पक्ष छानबिनको माग, संसद्मा रास्वपा-राप्रपाको अवरोध
काठमाडौं- भिजिट भिसा प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) २६ दिनदेखि संसद्मा निरन्तर विरोधमा उत्रिएका छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा पनि दुवै दलका सांसदहरूले विरोध जारी राखेपछि बैठक केही समय अवरुद्ध भएको थियो।
बैठक सुरु भएलगत्तै रास्वपा र राप्रपाका सांसदहरूले आ-आफ्ना आसनबाट उठेर नाराबाजी गरे। सभामुख देवराज घिमिरेले आर्थिक वर्ष २०८२/८३ को बजेट प्रक्रिया अगाडि बढाउने आग्रह गरे पनि उनीहरूले बैठक सञ्चालनमा अवरोध पुर्याए।
रास्वपाका सांसद अशिम शाहले संसद्को रोष्ट्रमबाट बोल्दै भने, “भिजिट भिसा प्रकरणमा जबसम्म निष्पक्ष छानबिन हुँदैन, हाम्रो विरोध जारी रहनेछ।” उनले एक महिनादेखिको आवाजलाई बेवास्ता गरिएको भन्दै संसद्को प्राथमिकता गम्भीर विषयतर्फ नभएको गुनासो गरे।
सभामुख घिमिरेले बैठकलाई नियमित कार्यसूचीतर्फ लैजाने घोषणा गरेपछि रास्वपाका सांसदहरूले वेल घेराउ गर्दै विरोधलाई निरन्तरता दिए। सत्तापक्षका सांसदहरूले संसदको वातावरण सामान्य बनाउन आग्रह गरे पनि रास्वपा अडिग रह्यो।
यता, राप्रपा भने सभाकक्षबाट बहिर्गमन भएको छ। दुबै दलले संसदीय छानबिन समिति गठनको माग गर्दै विरोध जारी राखेका हुन्।



कागजपत्र |
