वर्षापछिको बाढीपहिरोले विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध


काठमाडौं– वर्षापछिको बाढीपहिरोका कारण मंगलबार विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध भएको छ

सडक अवरुद्ध हुँदा यातायात आवागमन प्रभावित भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

प्रहरी प्रधान कार्यालयका अनुसार ललितपुरको बागमती गाउँपालिका– ३ छपेलीमा पहिरो खस्दा बिहानैदेखि कान्ति लोकथप सडक अवरुद्ध भएको छ ।

यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा तीन ठाउँमा पहिरो खसेर अरनिको राजमार्ग अवरुद्ध भएको छ । भोटेकोशी गाउँपालिका– २ कोदारी, वडा नम्बर ३ लार्चा र वडा नम्बर २ कै कोप्लाङमा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

यसैगरी नवलपरासी बर्दघाट सुस्तापूर्वको विनयी त्रिवेणी गाउँपालिका– १ मा रहेको विनयी खोलाको बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

गुल्मीको कालीगण्डकी गाउँपालिका– ६ बर्लबामा पहिरो खस्दा कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ भने जुम्लाको सिंजामा पहिरो खस्दा बन्द भएको जुम्ला–मुगु सडक र धनकुटाको साँगुरीगढी गाउँपालिका– ५ को रवि–राके–भेडेटार सडक एकतर्फी खुलेको छ ।

अवरुद्ध रहेका सडक खुलाउने प्रयास जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया