


उदयपुरमा ढुसी लागेको पाउरोटी बिक्रीको विरोध गर्दा ग्राहकमाथि कुटपिट

उदयपुर त्रियुगा नगरपालिका–११ पुरानो गाईघाटका सुभनारायण ठाकुरले ढुसी लागेको पाउरोटी बिक्रीको विषयमा गुनासो गरेपछि उनीमाथि पसलमै निर्घात कुटपिट भएको छ। सोमबार बिहान नानीका लागि पाउरोटी किन्न गएका ठाकुरले पसलमा ढुसी परेको पाउरोटी देखेपछि फोटो खिचेर पत्रकारलाई पठाए। त्यसपछि पत्रकारसहित उनी पसलमै पुगे।
गुणस्तरहीन पाउरोटी बिक्री नगर्न सुझाएपछि उनी पसलबाट फर्कन लाग्दा पसल सञ्चालकका भतिजा २१ वर्षीय प्रशान्त चौधरी र बुद्धचोकका ३० वर्षीय सन्जु चौधरीले ठाकुरमाथि आक्रमण गरेका हुन्। कुटपिटबाट ठाकुरको अनुहारमा गम्भीर चोट लागेको छ। उनी हाल जिल्ला अस्पताल उदयपुरमा उपचाररत छन्।
घटनापछि ठाकुरले जिल्ला प्रहरी कार्यालय उदयपुरमा उजुरी दर्ता गराएका छन्।
कुटपिट हुनु अघिसम्म ठाकुरले बिक्रीमा राखिएको पाउरोटी त्रियुगा–५ देउरीमा रहेको ‘उदयपुर पाउरोटी बेकरी’बाट आएको बताएका थिए। पाउरोटीको बाहिरी प्याकेटमा म्याद देखिए पनि भित्रबाट पूरै कुहिएको र ढुसी लागेको फेला परेको जनाइएको छ।
सञ्चालक चौधरीले ग्राहकले देखाएपछि मात्र आफूलाई थाहा भएको दाबी गरेका छन्। बेकरीका प्रतिनिधिले चर्को गर्मीका कारण ढुसी लागेको हुन सक्ने र सडेको पाउरोटी फिर्ता लिनेसमेत बताएका छन्।

