


प्रचण्ड सम्पर्कमा आएनन्, संसद अवरुद्ध लोकतन्त्रविपरीत : ओली

काठमाडाैं- प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद अवरुद्ध गर्नु लोकतान्त्रिक मान्यताविपरीत भएको बताएका छन्। सोमबार बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले संसदको अवरोधको कारण सरकारका काम कारबाही प्रभावित भएको भन्दै आपत्ति जनाए।
ओलीले संसद नियमित सञ्चालनका लागि प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सम्पर्क गर्ने प्रयास गरेका तर प्रचण्ड सम्पर्कमा नआएको दाबी गरे। “वार्ताको वातावरण बनाउने प्रयास गरेँ तर उहाँ सम्पर्कमै आउनुभएन। जानीजानी संवाद टार्ने र संसद बन्द गर्ने मुड देखिन्छ,” उनले भने।
ओलीका अनुसार गृहमन्त्री लेखकमाथि कुनै छानबिन वा उजुरी नरहेकाले उनको राजीनामा माग्नु स्वार्थपूर्ण र निराधार हो। संसद यस्तो ‘नचाहिने’ विषयमा अवरुद्ध हुनु हुन्न भन्दै ओलीले सांसदहरूलाई भोलिदेखि नियमित रूपमा उपस्थित हुन निर्देशन दिए।
संसद अवरुद्ध हुँदा विकास, बजेट बहस जस्ता गम्भीर कार्य रोकिने भन्दै प्रधानमन्त्री ओलीले चेतावनी दिए, “सडकमा कोही माग लिएर बस्दा कुद्दै समर्थन गर्न पुग्ने तर संसदमा अवरोध गर्ने प्रवृत्तिले प्रतिगमनको ढोका खोल्ने खतरा हुन्छ।”
सरकारको बजेट गम्भीर मोडमा प्रस्तुत भएको भन्दै ओलीले सांसदहरूलाई तर्कपूर्ण रूपमा पक्ष राख्न आह्वान गरे। मन्त्रीहरूलाई पनि संसदलाई प्राथमिकता दिन उनले निर्देशन दिए।
प्रधानमन्त्री ओलीले पछिल्लो समय राजतन्त्र पुनःस्थापनाको चर्चा हुनु आफैंमा मूर्खता भएको टिप्पणी गर्दै यस्तो सोच राख्नेहरूको चेतनास्तरप्रति दया लाग्ने बताए। “जन्मिँदै राजा हुने वंश परम्परा र दास मानसिकताको वकालत गर्नु आजको लोकतान्त्रिक युगमा अस्वीकार्य हो,” उनले भने।
साथै, ओलीले ‘घण्टाकर्ण प्रवृत्ति’ भन्दै सत्ताबाट बाहिरिएपछि कुण्ठित समूहहरूले सरकारको काममा अवरोध गर्न खोजिरहेको आरोप लगाए। “देशलाई ओरालो लाग्नबाट जोगाएका छौँ। अब हामी अझ प्रभावकारी रूपमा विकास र सुशासनको दिशामा अघि बढ्नेछौँ,” उनले भने।

