
ड्राइभिङ लाइसेन्स प्रणालीमै मिलेमतो, अपरेटरको सेटिङमा परीक्षा नदिई लाइसेन्स !
काठमाडौं- नेपालमा प्रविधिको प्रयोगले पारदर्शिता ल्याउने अपेक्षा भइरहँदा यातायात व्यवस्था कार्यालयका कर्मचारीले नै ई–प्रणालीको दुरुपयोग गरी लाइसेन्स वितरण गरेको खुलासा भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालक अनुमतिपत्र प्रणालीमा गैरकानुनी सेटिङ गर्ने तीनजना कम्प्युटर अपरेटरसहित चारजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
मुद्दामा रुपन्देहीको कार्यालयका तत्कालीन कम्प्युटर अपरेटर कमल पराजुली, सहायक कम्प्युटर अपरेटर नारायण प्रसाद पाण्डेय र तुलसीपुर कार्यालयका अनिल बुढामगर मुछिएका छन्।
यसबाहेक, रुपन्देहीको तिलोत्तमा–४ की सभ्यता केसी पनि सो प्रकरणमा संलग्न रहेको भन्दै मुद्दा दर्ता गरिएको हो। आयोगका अनुसार केसीले लिखित वा ट्रायल परीक्षा बिना नै सेटिङमार्फत लाइसेन्स प्राप्त गरेकी थिइन्।
अनुसन्धानमा Applicant ID: 8401685 प्रयोग गरी अर्कै व्यक्तिको नामबाट जारी हुन लागेको लाइसेन्स विवरण प्रणाली (EDLVRS) मा हेरफेर गरी केसीको नाममा अद्यावधिक गरिएको प्रमाण भेटिएको छ।
अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार यो घटना सार्वजनिक सेवामा गम्भीर अनियमितताको प्रतिनिधि घटना हो।



कागजपत्र |
