मोरङमा बेहुला र बेहुली पक्षबीच लफडा, ५ जना घाइते


विराटनगर- विवाह कार्यक्रम भइरहेका बेला मोरङको धनपालथानमा बेहुला र बेहुली पक्षबीच झडप हुँदा ५ जना घाइते भएका छन्। धनपालथान गाउँपालिका–६ कदमहास्थित बिहे घरमा शुक्रबार राति दुई पक्षबीच झडप भएको हो।

नाचगान गर्ने क्रममा दुई पक्षबीच विवाद भएको थियो। मदिरा सेवन गरेका जन्ती र घरगाउँले बीच बढेको विवाद बढेर भडप भएको थियो। झडपमा धनपालथान–६ का २८ वर्षीय वीरेन्द्र सहनी, २६ वर्षीय श्रवण सहनी, विराटनगर महानगरपालिका–११ का २९ वर्षीय रोशन सहनी, २५ वर्षीय सुनील सहनी र ३५ वर्षीय अनिल सहनी घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये वीरेन्द्र र श्रवण बेहुली पक्ष तथा अरु ३ जन्तीहरु रहेको प्रहरीले जनाएको छ। सबैलाई उपचारका लागि विराटनगरको कोशी अस्पतालमा भर्ना गरिएको छ।

झडप भए पनि जन्ती भने बेहुला र बेहुली लिएर शनिबार बिहानका राति १ बजेतिर विराटनगर फर्किएका थिए।

बेहुली लिएर फर्किएको जन्तीको टोलीलाई प्रहरीले सुरक्षा दिएको थियो।

झडपमा संलग्न व्यक्तिहरुको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया