अवरुद्ध दाउन्ने सडकखण्ड आंशिक रूपमा खुला


काठमाडौं-  पूर्णरूपमा अवरुद्ध भएको पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने सडक खण्ड शनिबार बिहानदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ । बर्दघाट नगरपालिका-४ स्थित खुर्सानी खोलानजिकको सडक भासिँएपछि शुक्रबार रातिदेखि सवारी आवागमन पूर्ण रूपमा रोकिएको थियो ।

इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक दीपेन्द्र वानियाका अनुसार आज बिहान ७ बजेदेखि क्षतिग्रस्त भागको मर्मत सुरु गरिएपछि १० बजेदेखि एकतर्फी रुपमा सडक सञ्चालनमा ल्याइएको हो ।

तत्काल सवारीसाधनलाई सावधानीपूर्वक संचालन गर्न आग्रह गरिएको छ ।

उक्त सडकखण्ड बुटवल-नारायणगढ सडक विस्तार आयोजनाअन्तर्गत निर्माणाधीन अवस्थामा छ । दाउन्ने खण्डको झन्डै २० किलोमिटर सडक अझै कालोपत्रे हुन बाँकी रहेकोले वर्षा भएपछि सडक चिप्लो, जोखिमपूर्ण र आवागमन अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ ।

प्रतिक्रिया