गणतन्त्र दिवस मूल समारोह समिति बैठकमा बालेन अनुपस्थित, प्रधानमन्त्री ओली असन्तुष्ट


काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) लगातार अनुपस्थित हुँदै आएकोप्रति तीव्र असन्तोष व्यक्त गरेका छन्।

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको समितिको बैठकमा बालेन सहभागी नभएपछि प्रधानमन्त्री ओलीले नआउने व्यक्तिहरूको नाम समितिमा राखिरहनु नपर्ने धारणा राख्दै तीव्र टिप्पणी गरेका हुन्।

‘कहिले पनि नआउने, नाम राखिरहनुपर्ने ? मानका खातिर मानको चलन छोड्दा पनि हुन्छ कि क्या हो?’ भन्दै प्रधानमन्त्री ओलीले बालेनतिर संकेत गर्दै बोले। उनले गणतन्त्रको महत्त्व नबुझ्ने र सरकारी बैठकमा रूचि नदेखाउने व्यक्तिको नाम समितिबाट हटाउन निर्देशनसमेत दिए।

प्रधानमन्त्रीको भनाइसँगै मुख्य सचिव एकनारायण अर्यालले पनि प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने बैठकमा प्रमुखहरूले सहभागी हुनु आवश्यक रहेको धारणा राखे। ‘फर्मल मिटिङमा आउनु शिष्टाचार मात्र होइन, कर्तव्य पनि हो’, अर्यालले भने।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले यसअघि पनि गणतन्त्र दिवसका कार्यक्रमहरूमा सहभागिता जनाएका थिएनन्। समितिमा उनी पदेन सदस्यका रूपमा रहँदै आए पनि निरन्तर अनुपस्थित हुँदै आएकोप्रति यसपटक प्रधानमन्त्रीले सार्वजनिक रूपमा आलोचना गरेका हुन्।

बैठकले आगामी जेठ १४, १५ र १६ गते गणतन्त्र दिवस अवसरमा देशभर दीप प्रज्ज्वलन कार्यक्रम गर्न तथा मुख्य कार्यक्रम जेठ १५ गते टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजना गर्ने निर्णय गरेको छ। साथै, विदेशस्थित नेपाली नियोगहरूमा पनि दिवस मनाइनेछ।

प्रतिक्रिया