बालेनको नेतृत्व फेरबदलको निर्णय अस्वीकार, संयोजक जिम्मेवारी नलिने तीन वडाध्यक्षकाे घोषणा


काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले जेठ १ गते गरेका समितिहरुको नेतृत्व हेरफेरको निर्णय वडाध्यक्षहरूले अस्वीकार गरेका छन्। सूचना प्रविधि समिति, सुशासन समिति र सम्पदा तथा पर्यटन समितिको संयोजकको जिम्मेवारी दिइएका वडाध्यक्षहरू दलबहादुर कार्की, वीरेन्द्र प्रजापति र विनोद राजभण्डारीले सामूहिक रूपमा संयोजक जिम्मेवारी अस्वीकार गर्दै मेयरलाई पत्र बुझाएका हुन्।

तीनै कार्यपालिका सदस्यहरूले कार्यसम्पादन नियमावली, २०७४ को नियम १५(१) अनुसार दिइएको जिम्मेवारी कार्यपालिका बैठकबाट अनुमोदन नभएकाले आफूहरू संयोजक पदमा नरहने स्पष्ट पारेका छन्।

तीनवटै समितिको नेतृत्व परिवर्तन गरेर मेयर बालेनले जेठ १ गतेदेखि नयाँ संयोजक तोकेका थिए। तर, कार्यपालिका बैठक २०८१ पुस १० यता नबसेको भन्दै वडाध्यक्षहरूले कानुनी प्रक्रिया नपुगेको जिकिर गरेका छन्।

यसअघि संयोजक रहेका वडाध्यक्ष नवीन मानन्धर, ख्यामराज तिवारी, आशामान संगत र मचाराजा महर्जनलाई हटाएर नयाँ संयोजक तोकिएको थियो। तर अहिले तीन जना वडाध्यक्षले बालेनको निर्णयको वैधानिकता स्वीकार नगर्ने भन्दै कार्यपालिका बैठक बोलाउन माग गरेका छन्।

null

प्रतिक्रिया