पशुपति कोष कार्यालयभित्रै जुवा, प्रहरीले छापा हान्दा संस्कृति महाशाखा प्रमुखसहित ७ जना पक्राउ


काठमाडौं- पशुपति क्षेत्र विकास कोष अन्तर्गत श्रीपशुपतिनाथ अमालकोट कचहरीको कार्यालयभित्रै जुवा–तास खेलिरहेको अवस्थामा सातजनालाई नियन्त्रणमा लिइएको छ। संस्कृति महाशाखा प्रमुख ईश्वरमान भण्डारीसमेत ती व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय गौशालाबाट खटिएको टोलीले शनिबार नगदसहित पक्राउ गरेको हो।

महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख डिएसपी सुकदेव खनालका अनुसार, सबै पक्राउ परेकामाथि आवश्यक अनुसन्धान कार्य अघि बढाइएको छ। “शनिबार बिदा भएकाले औपचारिक कानुनी प्रक्रिया आइतबारबाट सुरु हुनेछ,” उनले भने।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले घटनाको जानकारी पाएलगत्तै यदि कोषका कर्मचारी दोषी सावित भए, सेवा नियमावलीअनुसार कारबाही गरिने स्पष्ट पारे। “सातमध्ये को–को दोषी हुनेछन् भन्ने प्रहरी परीक्षणपछि मात्रै थाहा हुन्छ,” उनले भने।

प्रतिक्रिया