

मन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीमा भाँडभैलो

काठमाडाैं- २०७८ पुसमा थरुहट आन्दोलन र टीकापुर घटनाको पृष्ठभूमिमा रेशम चौधरीले श्रीमती रञ्जिता श्रेष्ठको नाममा गठन गरेका नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुरुवातदेखि नै प्रभावशाली चुनावी नतिजा दिँदै आएको छ। तर, पछिल्लो समय सुदूरपश्चिम प्रदेश सरकारको मन्त्री छनोटलाई लिएर पार्टीभित्र गहिरो विवाद देखिएको छ।
नाउपाले पाएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लक्ष्मणकिशोर चौधरीको राजीनापछि मन्त्रीविहीन छ। एक महिनाअघि अध्यक्ष रञ्जिता श्रेष्ठलाई नयाँ मन्त्रीको नाम टुंग्याउने जिम्मा दिइएको भए पनि निर्णय नभएपछि संसदीय दलले ३० वैशाखमा तीन विकल्पसहित पत्र पठायो, एक हप्ताभित्र निर्णय, नत्र निर्णयको अधिकार प्रदेश संसदीय दललाई वा सरकारलाई समर्थन फिर्ता।
त्यसै दिन अध्यक्ष श्रेष्ठले कैलाश चौधरीलाई मन्त्रीमा सिफारिस गरिन्, तर प्रदेशका सातमध्ये छ सांसदले असहमति जनाए। त्यसपछि ३१ वैशाखमा संसदीय दलको बैठकले रामेश्वर चौधरीलाई मन्त्रीमा सिफारिस गर्यो। तर, यो निर्णय पनि विवादास्पद बन्यो।
प्रदेशसभा सदस्य खुसीराम डगौरा थारूले दलनेता घनश्याम चौधरीले नियमविपरीत निर्णय गरेको भन्दै कारबाहीको माग गरेका छन्। उनले मुख्यमन्त्रीलाई रामेश्वरलाई शपथ नगराउन अनुरोध गर्दै पत्र समेत लेखेका छन्।
एकजना मन्त्री चयन गर्न नसक्दा नाउपा सुदूरपश्चिममा आन्तरिक कलहमा अल्झिएको छ।

