

दिल्लीको चोरी प्रकरणमा संलग्न ८ नेपाली कैलालीबाट पक्राउ

कैलाली- भारतको दिल्लीमा गत ११ अप्रिलमा कपिल बद्रीलालको घरमा भएको ठूलो चोरी प्रकरणमा संलग्न ८ नेपाली नागरिकलाई कैलालीबाट पक्राउ गरिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार भारतीय दूतावासको अनुरोधपछि समन्वय गर्दै पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा अछाम मेल्लेखका राजेश साउद, गोकुल साउद, सुरेश साउद, धनगढीका एसके सुनचाँदी पसलका सञ्चालक सुरेश बर्मा, दिपेन्द्र सोप, रोविक सुनचाँदी पसलका सञ्चालक रोहित सिंजापती, गोदावरीका मीनबहादुर गुरुङ र ज्ञानेन्द्र खड्का छन्।
प्रहरीका अनुसार उनीहरूबाट २८ लाख नेपाली रुपैयाँ, २४० ग्राम सुन, १३ तोला सुनका गरगहना, ४.९ किलो चाँदी र ४ वटा घडी बरामद गरिएको छ।
उक्त चोरीमा संलग्न झापाका देव मल्ल र दोलखाका शंकर लामा भारतको दिल्लीमै पक्राउ परेका छन् भने अन्य ३ जना फरार छन्।
अनुसन्धानका अनुसार भारतमा घरेलु कामदारको रूपमा गएका नेपालीहरूबाट घरभित्रको सूचना संकलन गरी योजनाबद्ध चोरी हुने गरेको पाइएको छ।
चोरेको सम्पत्ति नेपाल ल्याई सुनचाँदी व्यवसायीहरूमार्फत बिक्री हुने र केही बिचौलियाले सुरक्षा निकायसम्म प्रभाव जमाउने प्रयास गरेको समेत खुलेको छ।

